म बिस्तारै बढ्दा गगन तलमा सुन्दर दिएँ
थपेँ मैले हाँगा वितह वितरागीसरि बनेँ
सबै ऊर्जा खर्चेँ अवयव भरी सौम्य म बनेँ
जरा बोक्रा थप्दै फलद म बनेँ पुष्पित भएँ
अहा ! भन्थे सारा हरित म हुँदा पूजित थिएँ
सहेँ मैले चिसो र पनि चुप लागी खटिरहेँ
कडा गर्मी झेल्दै अटल उपकारी बनिरहेँ
टिपे,टोके , भोगे मनुज पशुपन्छीहरू रमे
अनेकौँ प्राणीले सबल म हुँदा निर्भय लुटे
म सानो हाँगामा लहलह भई जीवन जिएँ
सबै हाँसे नाचे उपकृत हुँदा हर्षित थिए
भएँ फुस्रोधुस्रो रुपरस उड्यो क्लान्त म बनेँ
पहेँलोमा हेलाँ अलिअलि गरे शान्त म भएँ
सधैँ उस्तै हुन्नन् प्रकृति सृजनाको नियतले
भनी गम्दागम्दै मिति नजिक आएर म ढलेँ ।
खसेको पत्ताको विगत किन सम्झन्छ मुनियाँ
सदा छायाँमाया फलफुल दिएँ भुल्छ दुनियाँ
म पत्ताको भित्री हृदय चिरिई चर्चर भएँ
म पीडामा हाँस्थेँ अब त बुढिई जर्जर भएँ
गयो सत्ता मेरो विगत हरियाली सब गयो
म माटोमै मिल्ने दिन किन अनौठो पल भयो
मलाई सम्झन्नन् नद तरिसके लट्ठी म बनी
खसेको छु धर्ती उपकृत हुँदै छिन् अझ पनि