Aamsanchar

 बिर्तामोडमा ट्राफिक व्यवस्थापन फितलो, दुर्घटनाको जोखिम बढ्दो

Author Image
मङ्गलवार, पौष १६, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा ट्राफिक व्यवस्थापनको कमजोर अवस्थाले स्थानीय बासिन्दा र यात्रुहरू समस्यामा परेका छन्। देशकै प्रमुख व्यापारिक केन्द्रहरूमध्ये एक मानिने बिर्तामोडमा दिन प्रतिदिन बढ्दै गरेको सवारी चाप र ट्राफिक जामले गर्दा सहरको दैनिकी अस्तव्यस्त बन्न थालेको छ।

मुख्य चोक र व्यस्त स्थानहरूमा ट्राफिक सङ्केत र लाइटहरूको व्यवस्था फितलो छ । बजार क्षेत्रका सडकहरूमा जथाभावी पार्किङले गर्दा गाडीको आवागमनमा समस्या हुँदै आएको छ । सडक साँघुरो हुनुका साथै फुटपाथमा व्यापार फैलिएको कारण पैदलयात्री र सवारीचालक दुवैलाई असुविधा भएको छ ।  व्यस्त समयमा चोकहरूमा ट्राफिक व्यवस्थापन गर्ने पर्याप्त जनशक्ति नहुँदा समस्या थप जटिल बन्दै गएको छ ।

त्यस्तै फितलो व्यवस्थापनले सवारी दुर्घटनाको जोखिम बढाएको छ । पैदलयात्रुहरूका लागि सुरक्षित मार्ग नहुँदा दुर्घटनाको जोखिम उच्च बनेको छ भने स्कुलका विद्यार्थीदेखि वृद्धवृद्धाहरूलाई बाटो काट्न गाह्रो हुँदै आएको छ ।

स्थानीय व्यवसायी, यातायात व्यवसायी सङ्घ, र सर्वसाधारणले ट्राफिक व्यवस्थापन सुधार गर्न तत्काल कदम चाल्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। सडक चौडा गर्ने, ट्राफिक सङ्केत व्यवस्था मिलाउने, र जनशक्ति वृद्धि गर्ने पहल नगरिए निकट भविष्यमा बिर्तामोडको समस्या थप गम्भीर हुने स्थानीयको भनाई छ ।
बिर्तामोडको केन्द्र मुक्तिचोक मात्र होइन । भद्रपुर रोड, शनिश्चरे रोड, पुरानो भद्रपुर रोड, अतिथि सदन रोड, कृषिथोक रोड, सुब्बा चोक, कनकाई कलेज रोडमा ट्राफिक व्यवस्थापनको प्रगति शून्य झै छ ।

जता त्यतै अस्तव्यस्त रहेको बिर्तामोडको पश्चिम बस बिसौनीमा झन धेरै समस्याहरू रहेको छ । अझ गत वर्ष देखि भाटभटेनीमा धेरै ट्राफिक जाम हुने गरेको छ । उता चारपानेमा दिनकै जसो दुर्घटना हुने गरेको छ । सवारी आवागमन व्यवस्थापनका लागि सडकमा ट्राफिक नै देखिदैनन्, ट्राफिक प्रहरीहरू गाउँका गौडा गौँडामा ट्रयाक्टर ट्रिपरलाई नियम उलङ्घन गरे वापत राजस्व उठाउनमै व्यस्त रहिदै आएका छन् । बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा ट्राफिकले ध्यान नै नदिएको स्थानीय सर्वसाधारणको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर