Aamsanchar

दाङ : टमाटर बेचेर वार्षिक सात लाख बचत

Author Image
मङ्गलवार, पौष १६, २०८१

घोराही – घोराही उपमहानगर–१२ हापुरका जयबहादुर रोकाको बारीमा यति वेला लटरम्मै टमाटर पाकेको छ। बारीबाटै टमाटर बेच्न भ्याइनभ्याइ छ।

विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती गर्दै आएका रोका व्यवसायप्रति सन्तुष्ट छन्। भाउ पाएका वेला उत्पादन गर्न सके टमाटरबाट राम्रो आम्दानी हुने उहाँ बताउनहुन्छ। ‘यो वर्ष समयमै उत्पादन गरेकाले बजारको समस्या छैन’, उनले भने, ‘यही खेतीलाई निरन्तरता दिने सोचमा छु।’ रोल्पा रुन्टिगढी गाउँपालिका–७ बाट बसाइँ सरेका रोकाले रोल्पाकै एक सामुदायिक विद्यालयमा सात वर्ष कर्मचारीका रूपमा काम गरे।

उनी १० वर्ष वैदेशिक रोजगारीमा मलेसिया बसेर फर्किएका थिए। हाल उनी टमाटर बेचेरै खर्च कटाएर वार्षिक रु.सात लाख बचाउँछन्। वार्षिक रु. १८ लाखको टमाटर बेचे पनि मल, बीउ, कामदार, जग्गा भाडालगायत सबै खर्च कटाएर सात लाख बच्ने गरेको उनको भनाइ छ।

‘१० जनालाई रोजगारी दिएको छु’, रोकाले भने, ‘पहिले रोल्पामा पनि कृषि व्यवसाय गरेको थिएँ तर सडकको अवस्थाका कारण बजारीकरणमा समस्या थियो।’

मङ्सिरसम्म थोकमा प्रतिकिलो रु. ५० का दरले बिक्री गरेको र हाल भाउ घट्दै गएको उनले बताए। उनले तीन बिघा जग्गा भाडामा लिएर टमाटरखेती गरेका छन्। आफ्नो १२ कट्ठा मात्रै जग्गा भएकाले बाँकी जमिन भाडामा लिएको बताए।

जग्गाको वार्षिक भाडा रु. ९८ हजार तिर्ने गरेका उनको परिवारमा आठ सदस्य छन्। टमाटरखेतीकै कमाइले छोराछोरीलाई लेखरपढ गराएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर