काठमाडौं – आर्सनलले नयाँ वर्षको सुरुवात जितबाट गरेको छ।
इंग्लिस प्रिमियर लिगमा आर्सनलले ब्रेन्टर्फडलाई ३–१ गोलले पराजित गरेको हो। घरेलु टिमविरुद्ध आर्सनल १–० गोलले पछि परेको अवस्थाबाट खेलमा फर्किएको थियो।
खेल सुरु भएको १३औं मिनेटमानै ब्रेन्टर्फडले ब्रायन एमबेमोको गोलमार्फत अग्रता लिएको थियो। ब्रेन्टर्फडले अग्रता दोब्बर बनाउने मौका पाएको थियो । तर सफल भएन्। २९औं मिनेटमा आर्सनलले खेल बराबरी गर्यो। उसका लागि गाब्रिएल जेजुसले गोल गरे।
पहिलो हाफ १–१ को बराबरीमा सकियो। ५०औं मिनेटमा मिकेल मरिनोको गोलपछि आर्सनल खेलमा दुई एकले अघि रह्यो। ५३औं मिनेटमा गाब्रिएल मार्टिनेलीले आर्सनलका लागि तेस्रो गोल गरेका थिए।
आर्सनल बुकायो साका र काइ हाभर्टस बिना मैदान उत्रिएको थियो। साका चोटग्रस्त छन् भने हाभर्टस विरामी छन्। प्रशिक्षक मिकेल अर्टेटाले यो खेलमा १७ वर्षीय इथन वानेरीलाई प्रिमियर लिगमा पहिलो पटक सुरुवाती एघारमा मौका दिएका थिए। उनी आफ्नो प्रभाव जमाउन सफल भए।
जितपछि आर्सनल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। उसको १९ खेलबाट ३९ अंक छ। शीर्ष स्थानको लिभरपुलको ४५ अंक छ। तर लिभरपुलले आर्सनलभन्दा एक खेल कम खेलेको छ।