झापा – बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१ हुने भएको छ । यही माघ ८ गतेदेखि १९ गतेसम्म बिर्तामोड नगरपालिका वडा नं. ५, धर्मकाटा रोड नजिकको खाली जमिनमा महोत्सव आयोजना हुने भएको हो।
महोत्सवको मुख्य उद्देश्य खस्किँदो अर्थतन्त्रलाई उकास्दै स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु, व्यापार व्यवसायलाई चलायमान बनाउनु, र उपभोक्तालाई गुणस्तरीय सामान तथा सेवासँग परिचित गराउनु रहेको आयाेजकले जनाएकाे छ।
महोत्सवले साना तथा ठूला व्यापारी, उत्पादक, निर्यातकर्ता र उपभोक्तालाई एउटै मञ्चमा भेला गराउने अवसर प्रदान गर्ने जनाइएको छ। प्रदर्शनी तथा बिक्री कक्षमा अटोमोबाइल्स, इलेक्ट्रोनिक्स, निर्माण सामग्री, कृषि तथा जडिबुटी, हस्तकला, पर्यटन, र दैनिक उपभोग्य वस्तुहरूकाे प्रदर्शनि हुनेछन्।
महोत्सवलाई अझ रोचक बनाउन मुलुकका चर्चित कलाकार र व्याण्डहरूको सांगीतिक प्रस्तुति, मनोरञ्जनात्मक पिङ तथा खेलकुद समेटिएको बाल उद्यान, र विभिन्न स्वादका खाना स्टलहरूको व्यवस्था गरिने छ।
महोत्सवमा बंगलादेश, पाकिस्तान, र भारतका प्रदर्शकहरूले सहभागिता जनाउने भएकाले यसले अन्तर्राष्ट्रिय व्यापार सम्बन्धको प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, महोत्सव अवधिभर प्राथमिक उपचार, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, खानेपानी, शौचालय, र पार्किङको व्यवस्था उपलब्ध गराइने छ।
महोत्सवको सुरक्षा व्यवस्थाका लागि सिसिटिभीद्वारा २४ घण्टा निगरानी गरिनेछ भने सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, र निजी सुरक्षाकर्मीको सक्रिय सहकार्य हुनेछ। प्रचार-प्रसारका लागि माइकिङ, पोस्टर, होर्डिङ बोर्ड, स्वागतद्वार, र सामाजिक सञ्जाललाई प्राथमिकता दिइएको छ।
महोत्सव आयोजकले उद्योगपति, व्यापारी, स्थानीय निकाय, संघ संस्था, प्रहरी प्रशासन, सञ्चार माध्यम, र आम नागरिकलाई महोत्सव सफल बनाउन सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।