बिर्तामोड । झापा बिर्तामोडस्थित देवी माविले आयोजना गरेको देवी रन २०८१ भव्यताका साथ सम्पन्न भएको छ। विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित पाँच किलोमिटर दौड प्रतियोगितामा खासेन चेम्जोङ र सिमाना जवेगू उपाधि विजेता बनेका छन्।
पुरुषतर्फ, फाल्गुनन्द–५, पाँचथरका कक्षा १२ का विद्यार्थी खासेन चेम्जोङले दौड १६ मिनेटमा पूरा गर्दै पहिलो स्थान हासिल गरे। महिलातर्फ, माई–१, इलामकी कक्षा १२ की सिमाना जवेगूले २२ मिनेट ४५ सेकेन्डमा दौड पूरा गरी उपाधि जितिन्।
अन्य विजेताहरू पुरुषतर्फ, दोस्रो बिर्तामोड–५ का कक्षा १० का युकेश लिम्बू (१६ मिनेट ३९ सेकेन्ड), तेस्रो कनकाई–१ का कक्षा १२ का कमल दुलाल (१६ मिनेट ४८ सेकेन्ड),
महिलातर्फ दोस्रो सिरिजंघा–५, ताप्लेजुङकी कक्षा १२ की रेखा भण्डारी (२३ मिनेट ३२ सेकेन्ड), तेस्रो अर्जुनधारा–६ की कक्षा १२ की पुनम दनुवार (२४ मिनेट ११ सेकेन्ड)
उपाधि विजेताले नगद सात हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुनेले क्रमशः छ हजार र पाँच हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगिताको उद्घाटन प्रदेशसभा सदस्य चिन्तन पाठकले शनिश्चरे चोकमा एक कार्यक्रमका बीच गरेका थिए। दौडमा ५५ जना छात्र र १५ जना छात्राको उत्साहजनक सहभागिता रहेको थियो।
विजेताहरूलाई भोलि विद्यालयको ६२ औँ वार्षिकोत्सव कार्यक्रममा पुरस्कृत गरिने विद्यालयका कक्षा–११/१२ संयोजक उमेशकुमार साहुले जानकारी दिए।
कार्यक्रमले विद्यालयको खेलकुद र अतिरिक्त क्रियाकलापमा योगदान पुर्याएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष आशिष बनले बताए ।