Aamsanchar

हिउँद सुुरु भएसँगै कृष्णसारलाई आहाराको संकट

Author Image
शुक्रवार, पौष १९, २०८१

गुलरिया – बर्दियाको खैरापुरमा पाइने एन्टीलोप प्रजातिको कृष्णसारलाई हिउँद सुुरु भएसँगै आहाराको संकट भएको छ। नेपालबाटै लोप हुन थालेपछि बन्यजन्तु संरक्षण ऐन २०२९ ले यसलाई संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरेको छ। सिरुलगायत दुबोका मसिना टुसा खान मनपराउने कृष्णसारहरूलाई हिउँदमा आहारा कमी भएसँगै कार्यालयले आहारा संकट टार्न मौसमी खेती सुरु गरेको छ।

कृष्णसारको आहारा कम भएपछि कृष्णसार संरक्षण क्षेत्रमा मौसमी खेती गर्नु परेको कृष्णसार संरक्षण क्षेत्र कार्यालय बर्दियाका संरक्षण अधिकृत भोजराज पन्थले बताए। संरक्षण क्षेत्रभित्रै कृष्णसारको बासस्थान परिसर चरिचरण क्षेत्रको ८ हेक्टर क्षेत्रफलमा मौसमी खेती गरिएको छ। उनले भने, ‘पहिलो चरणअन्र्तगत गहुँ, मकै, केराउ, मसुरोलगायतका अनाजहरू छरेका छौं। यसले केही दिनलाई कृष्णसारको आहाराको जोहो हुन्छ। अनाज उम्रदादेखि नै कृष्णसार चर्ने भएकाले दोस्रो चरणमा पुनः अनाज छरिने उनले बताए। वन्यजन्तु संरक्षण ऐनले सूचीकृत गरेको वन्यजन्तु कृष्णसार प्राकृतिक वासस्थानमा लोप हुने खतरा बढेपछि सरकारले संरक्षण क्षेत्र घोषणा गरी यसको संरक्षण सुरु गरेको हो। बर्दियाको गुलरिया नगरपालिकाको खैरी पटाहा क्षेत्रको प्राकृतिक वासस्थानमा भाले, पोथी बच्चा गरी २ सय १७ वटा कृष्णसार रहेको संरक्षण अधिकृत पन्थले जनाए।

कृष्णसारको बासस्थान अतिक्रमण, चरीचरण क्षेत्रमा पार्थेनियम लगायतका मिचाहा प्रजाती, छाडा पशुको खुला चरिचरण कृष्णसार संरक्षणको प्रमुख चुनौती रहेको उनको भनाइ छ। कृष्णसार संरक्षण क्षेत्रमा यथेष्ट आर्थिक अभाव हुँदा संरक्षणमा चुनौती थपिने गरेको छ। हिउँदमा कृष्णसारको चरिचरण क्षेत्रका आहारा घाँसजन्य प्रजातीहरू सुक्ने भएकाले पनि समस्या पर्ने गरेको हो। बर्दियाको गुलरिया स्थित खैरापुरको पटाहा क्षेत्रको प्राकृतिक बासस्थानमा रहेका एन्टीलोप प्रजातीका कृष्णसारहरूलाई बर्षाको समयमा चरिचरणको समस्या नभएपनि हिउँदे सुखा याममा घाँस सुक्ने भएका कारण चरिचरणको समस्या पर्ने गर्छ।

कृष्णसार संरक्षणमा पानीको लागि सोलार ट्याङकीहरू जडान गरिएको उनले बताए। कृष्णसार संरक्षण क्षेत्र घरपालुवा पशुचौपायाहरूको लागि खुला चरिचरण बन्ने गरेको छ। बाह्य पशुहरूको सम्पर्कले कृष्णसारमा पशुहरूमा हुने महामारीजन्य रोगको संक्रमण फैलिन सक्ने खतरा बढ्ने चिन्ता गरिएको छ। कृष्णसार संरक्षण क्षेत्रको रुपमा स्थापना गरिए पनि राज्यले उचित लगानी गर्न नसकेको स्थानीयको आरोप छ।

कृष्णसारको दिगो संरक्षण गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरी संरक्षण समेत गरिएको छ। लामो समयदेखि यिनीहरूको एउटै वंशमा प्रजनन् भैरहँदा अनुवांशिक खतरा देखिन सक्ने चुनौती छ। यसको लागि बाह्य देशहरूबाट भाले ९विउ० कृष्णसारहरू ल्याई नेपालका कृष्णसारहरू माझ प्रजनन् गराउनु आवश्यक रहेको विज्ञहरूको सुझाव छ। अन्यथा कृष्णसारहरूको आनुवांशिकता हस भई प्राकृतिक पन लोप हुन सक्ने खतरा बढ्दै गएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर