काठमाडौं – दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योललाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ । तर, प्रहरी उनीसम्म पुग्न सकेको छैन ।
राष्ट्रपति युनको गिरफ्तारीको विरोधमा ठूलो संख्यामा उनका समर्थक निवास बाहिर भेला भएका छन् । राष्ट्रपतिको सुरक्षा बलले प्रहरीलाई राष्ट्रपति युनसम्म पुग्न रोकेको छ । युनले ३ डिसेम्बरको रातमा अचानक ‘मार्सल लुको घोषणा गरेका थिए । यसको विरोधमा देशैभर चर्को विरोध भएको थियो । त्यसपछि राष्ट्रपतिलाई महाभियोग लगाइएको थियो । यसै साताको सुरुमा उनविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । युनमाथि राष्ट्रपति पदको दुरुपयोग गरेको र विद्रोहलाई उक्साएको आरोप लगाइएको छ । सोही कारण उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।
घटनाको अनुसन्धान गर्न राष्ट्रपति युनलाई अनुसन्धान गरिरहेका अधिकारीहरूसामु उपस्थित हुन बोलाइएको थियो । तर, उनले जवाफ दिन पनि मानेका छैनन् । अहिले उनलाई पक्राउ गर्न करिब २० जना प्रहरीको टोली निवास पुगेको छ । राष्ट्रपतिका वकिलले ‘अवैध गिरफ्तारी वारेन्ट’लाई चुनौती दिने बताएका छन् । डिसेम्बर १४ मा सांसदहरूले राष्ट्रपति युनमाथि महाभियोगको पक्षमा मतदान गरको थिए । त्यसपछि युनलाई आफ्नो जिम्मेवारीबाट निलम्बन गरिएको थियो ।
यसैबीच, उत्तर कोरियाले दक्षिण कोरियामा विकसित पछिल्ला घटनाका सम्बन्धमा प्रतिक्रिया जनाएको छ । त्यहाँको सरकारी मिडियाले दक्षिण कोरियामा ‘राजनीतिक अराजकता’को अवस्था रहेको बताएको छ ।