तीनजनाको रिहाइको माग
नाम्जाङ्ग्रे क्षेत्रबाट पक्राउ परेका जनम लिम्बू, सुशिल लिम्बू र संजोग लिम्बूलाई तत्काल रिहा गर्नुपर्ने माग राख्दै आन्दोलनकारीहरूले ताप्लेजुङ, पाँचथर, इलाम र झापा क्षेत्रमा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्। पर्चा वितरण गर्दै उनीहरूले पुस २१ गतेदेखि मेची राजमार्ग, तमोर करिडोर र ताप्लेजुङभित्र सम्पूर्ण यातायात ठप्प पार्ने चेतावनी दिएका छन्।
बिर्तामोडमा प्रदर्शन र सभा
झापाको बिर्तामोडस्थित मुक्तिचोकमा मुक्कुम्लुङ संरक्षण समिति झापा, किरात याक्थुङ चुम्लुङ, कोशी नाम खारेजी समिति, नागरिक उन्मुक्ति पार्टी, संघीय लिम्बुवान राष्ट्रिय मञ्चलगायत १२ भन्दा बढी संघ(संस्थाहरूले विरोध प्रदर्शन र कोणसभा आयोजना गरेका छन्। हिमालयप्रकाश कन्दङवाको अध्यक्षतामा आयोजित सभामा विभिन्न वक्ताहरूले पाथीभरा क्षेत्रको ूउपनिवेशीकरणू र ूअतिक्रमणू विरुद्ध कडा विरोध जनाउँदै प्रकृति र संस्कृतिको संरक्षणको आवश्यकता औंल्याए।
सशस्त्र र जनपद प्रहरी फिर्ताको माग
आन्दोलनकारीहरूले पाथीभरा क्षेत्रको तल्लो फेदी नाम्जाङ्ग्रेबाट सशस्त्र र जनपद प्रहरी फिर्ता हुनुपर्ने माग राखेका छन्। उनीहरूको भनाइमा, सरकारी सुरक्षाकर्मीहरूको उपस्थिति स्थानीय समुदायप्रति दबाब सिर्जना गर्नेतर्फ केन्द्रित छ।
संयुक्त उपस्थिति
विरोध कार्यक्रममा जसपा झापा अध्यक्ष समर राई, नागरिक उन्मुक्ति पार्टीका धनबहादुर पन्धाक, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इङ्बुङलगायतका नेताहरूको उपस्थिति रहेको थियो। आन्दोलनकारीहरूले कालोपट्टी बाँधी कालो झण्डासहित विरोध प्रदर्शन गर्दै सरकारको ज्यादती विरुद्ध आक्रोश व्यक्त गरेका थिए।
आन्दोलनको प्रभाव
केबलकार खारेजीको मागले ताप्लेजुङ र अन्य क्षेत्रका यातायात तथा जनजीवन प्रभावित हुने देखिएको छ। आन्दोलनकारीहरूले सरकारको उपेक्षा र अतिक्रमणले स्थानीय समुदायको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय संरचनामा गम्भीर असर पुर्याउने दाबी गर्दै संघर्षलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन्।