Aamsanchar

खोटाङमा चार बालबालिकाको उद्धार, माया घर नेपालद्वारा संरक्षणमा पठाइयो

Author Image
सोमवार, पौष २२, २०८१

 खोटाङ । माया घर नेपालले खोटाङ जिल्लाका विभिन्न ठाउँबाट सहाराविहीन चार बालबालिकाको उद्धार गरी उनीहरूको पालनपोषण, शिक्षादीक्षा र स्वास्थ्य उपचारको व्यवस्था गरेको छ।

ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका नौ वर्षीय अङ्गबहादुर थापालाई विगत ६ वर्षदेखि आफ्नै अभिभावकले घरको कोठामा थुनेर राखेका थिए। बोल्न र हिँड्नसमेत नसक्ने अवस्थामा पुगेका अङ्गबहादुरलाई कमजोर आर्थिक अवस्थाका कारण अभिभावकले उपचार गराउन सकेका थिएनन्।

उद्धार गरिएकी नौ वर्षीया सुजता राईको बुबा बितिसकेको र आमा अर्कैसँग विवाह गरेर बसेको अवस्थामा रहेको छ। त्यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ११ वर्षीय विश्वहाङ राईका बुबा पाँच वर्षदेखि बेपत्ता छन् भने आमा पनि पुनः विवाह गरिसकेकी छन्। विश्वहाङ छिमेकीको शरणमा बसेको अवस्थामा थिए।

अर्को १२ वर्षीय बालक रुविन राईको बुबा अपाङ्ग र आमा असक्त भएकोले पालनपोषण र शिक्षामा समस्या भएको थियो।

जिल्ला प्रहरी कार्यालय खोटाङ, सम्बन्धित वडा कार्यालय र माया घर नेपाल इटहरीको सहकार्यमा यी बालबालिकालाई उद्धार गरी संरक्षणका लागि इटहरी पठाइएको हो। ऐँसेलुखर्क गाउँपालिकाले उद्धारका लागि एम्बुलेन्स निःशुल्क उपलब्ध गराएको थियो।

माया घर नेपालका जिल्ला प्रतिनिधि प्रमेश ढकालका अनुसार, उद्धार गरिएका चारै बालबालिकालाई पालनपोषण र शिक्षाको उचित व्यवस्था गर्न इटहरी लैजाने काम भइरहेको छ। उनले भने, “जिल्लाभर सहाराविहीन बालबालिकाको खोजी गरी संरक्षणमा ल्याउने हाम्रो अभियान जारी छ।”

यसअघि खोटाङ जिल्लाबाट चारजना सडकमा आश्रित मानव र दुईजना सहाराविहीन बालबालिकाको उद्धार गरी मानव सेवा आश्रम विराटनगर पठाइएको थियो।

उद्धार गरिएका बालबालिकाको भविष्य सुनिश्चित गर्न सहकार्य र लगानी आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर