Aamsanchar

लन्डन न्यू इयर डे परेडमा नेपाली समुदायको योगदानबाट ग्रीनवीच बरो तेस्रो स्थानमा

Author Image
सोमवार, पौष २२, २०८१

लन्डनको नयाँ वर्ष २०२५ को अवसरमा आयोजित लन्डन न्यू इयर डे परेड मा नेपाली समुदायको सक्रिय सहभागिताले रोयल बरो अफ ग्रीनवीचलाई तेस्रो स्थान दिलाएको छ। परेडमा सहभागी ७५ समूहमध्ये ग्रीनवीच बरो तेस्रो स्थानमा रहन सफल भएको हो।

परेडमा ग्रीनवीच बरोको तर्फबाट मेयर जीत रानाभाटको नेतृत्वमा नेपाली समुदायले धिमे बाजा, लाखे नाच, घिन्ताङ घिसी नाच, कुमारी यात्रा, नौमति बाजा, सोरठी नाच, तथा अन्य विविध जातीय प्रस्तुति प्रदर्शन गरेका थिए। यी प्रस्तुति नेपाली कला र संस्कृतिको झल्को दिने खालका थिए।

कार्यक्रममा पासा पुचः गुथि यूके, साउथइस्ट रिजनल तमुधिं लन्डन, थकाली समाज यूके, डायमण्ड बुद्धिष्ट सेन्टर, र मगर समुदायले विशेष भूमिका निर्वाह गरेका थिए।

शनिबार आयोजित एक समारोहमा लन्डन न्यू इयर परेडका निर्देशकले ग्रीनवीच बरोलाई तेस्रो स्थानको ट्रफी तथा ५ हजार पाउण्ड नगद पुरस्कार प्रदान गरे। यो पुरस्कार मेयर रानाभाटको च्यारिटी अभियान “बाउल क्यान्सर यूके“ र “कमनवेल्थ एण्ड गोर्खा गार्डेन प्रोजेक्ट“का लागि खर्च गरिनेछ।

मेयर जीत रानाभाटले ग्रीनवीच बरोले पहिलो पटक यो पुरस्कार जितेको उल्लेख गर्दै यो सफलता नेपाली समुदायको सहभागिता र सांस्कृतिक पहिचानको ऐतिहासिक उपलब्धि भएको बताए।

यस वर्ष परेडमा लुइसम बरोले पहिलो स्थान र सटन बरोले दोस्रो स्थान हासिल गरेका छन्। ग्रीनवीच बरोका संयोजक श्रीचन्द्र गुरुङले यो सफलता सधैं सम्झिइने ऐतिहासिक उपलब्धि भएको बताए।

Views: 83

प्रतिक्रिया (०)