बालकका बुबा विञ्जेश फागेले भने, “छोराको अवस्था अत्यन्तै नाजुक थियो। बालबालिकाको मात्रै उपचार हुने यो अस्पतालमा ल्याएका थियौँ, आज बाबु ठिक भएर घर लैजाँदैछौँ।“
जटिल अवस्थाको सफल उपचार
बालरोग विशेषज्ञ डा. रुपक आर्चायका अनुसार बालकको मृगौला, कलेजो, फोक्सो, रगत, मुटुजस्ता अधिकांश अंगमा संक्रमण फैलिएको थियो। मृगौलाको क्रिएटिनिनको मात्रा डबल भई २.१ पुगेको अवस्थामा बालकलाई उच्च निगरानीमा राखेर उपचार गरिएको उनले बताए।
“बहुअंग फेल भन्नाले शरीरका अधिकांश अंगले काम नगर्नु हो। यस्तो जटिल अवस्थामा पनि हामीले सफल उपचार गर्न सकेका छौँ,” डा. आर्चायले भने।
बालकको निरन्तर वान्ता, ज्वरो र पिसाब बन्द भएको अवस्थामा अस्पताल ल्याइएको थियो। प्रारम्भिक चरणमै अस्पताल ल्याएर उपचार गराएकोमा बालकका अभिभावकहरूले अस्पतालप्रति आभार व्यक्त गरेका छन्।
निमोनियाको जटिल अवस्थाबाट निको
यस्तै, झापाको हल्दिबारी गाउँपालिका–३ का अजय मेचेले पनि आफ्नी पाँच वर्षीया छोरी एस्लिनको जटिल अवस्थाको सफल उपचार गराएर खुशी व्यक्त गरेका छन्। ज्वरो र निमोनियाको कारण अत्यन्तै नाजुक अवस्थामा अस्पताल ल्याइएकी बालिकाको १२ दिनसम्मको उपचारपछि स्वास्थ्य सुधार भएको हो।
बालिकाका अभिभावकहरूले भने, “नानीलाई ज्वरो आएपछि सामान्य औषधि खुवाएका थियौँ। तर, स्वास्थ्य झन् बिग्रिएपछि बिर्तामोड चिल्ड्रेन अस्पताल ल्यायौँ। डाक्टर र नर्सहरूको अथक प्रयासका कारण छोरी निको भइन्।“
डा. आर्चायले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले ज्वरो, वान्ता, वा अन्य लक्षण देखिएमा तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्ने सुझाव दिए। उनले चिसो मौसममा बालबालिकाको खानपान र हेरचाहमा विशेष ध्यान दिन अभिभावकहरूलाई आग्रह गरे।
चिल्ड्रेन अस्पतालः बालबालिकाको उपचारमा विश्वास
बालबालिकाको मात्रै उपचार गर्ने उद्देश्यले स्थापना भएको बिर्तामोड चिल्ड्रेन अस्पतालले जटिल अवस्थाका धेरै बालबालिकाको सफल उपचार गर्दै आएको छ। अस्पतालकी सीईओ डा. सुजता मैनाली आर्चायका अनुसार, “यहाँ हरेक रोगको पहिचान गरेर मात्रै उपचार सुरु गरिन्छ।“
डा. आर्चायले भने, “नवजात शिशु र बालबालिकाको उपचार संवेदनशील भएकाले औषधि र उपकरण महँगा हुन सक्छन्। तर, वास्तविकता बुझ्नेहरूले यो महँगो नभएको थाहा पाउँछन्।“ अस्पतालले आर्थिक रूपमा कमजोर परिवारका लागि विशेष छुटसमेत दिने गरेको उनले जानकारी दिए।
अभिभावकका लागि डाक्टरको सन्देश
डा. आर्चायले बालबालिकामा निरन्तर वान्ता, पखाला, आलस्य, वा ज्वरो दुई दिनसम्म नघटेमा तुरुन्तै अस्पतालमा जानुपर्ने सल्लाह दिएका छन्। “चेकजाँच नगरी औषधि खुवाउनु जोखिमपूर्ण हुन सक्छ। बालबालिकाको स्वास्थ्यप्रति अभिभावकले थप सजग हुन आवश्यक छ,” उनले भने।
बिर्तामोड चिल्ड्रेन अस्पतालले आफ्नो विशेष उपचार प्रणालीका कारण स्थानीय र बाहिरी क्षेत्रका बालबालिकाका लागि सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।