काठमाण्डौ – जय ट्रफी एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १ सय ७२ रनको लक्ष्य दिएको छ । दोस्रो पारीमा आर्मी १ सय ७५ रन बनाउँदा अलआउट भयो । पुलिसले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
आर्मीका सोमपाल कामीले नटआउट ८२ रन बनाए । पुलिसका कुशल भुर्तेलले ४ विकेट लिए । आर्मीले पहिलो पारीमा १ सय २१ रन र पुलिसले १ सय २५ रन बनाएको थियो ।
यस्तै बाग्मती प्रदेशसँगको खेलमा दोस्रो पारीको ब्याटिङ गरिरहेको मधेशले चिया समयअघिसम्म ५ विकेट गुमाएर १ सय ५८ रन बनाएको छ । मधेशले १ सय १० रनको अग्रता लिएको छ । मधेशले पहिलो पारीमा १ सय २ रन र बाग्मतीले १ सय ५० रन बनाएको थियो ।
दुई दिवसीय फर्म्याटमा हुने जय ट्रफीमा चार वटा टोलीको सहभागिता छ । हिजोदेखि शुरू भएको प्रतियोगितामा लिग चरणका खेल सिङ्गल राउन्ड रोबिनका आधारमा हुनेछ । लिग चरणका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।