Aamsanchar

बिर्तामोडका पूर्व नगर प्रमुख शिवाकोटी पूर्वपक्षको लागि थुनामा 

Author Image
सोमवार, पौष २२, २०८१

झापा । बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। १६ वर्षीया नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शिवाकोटीलाई आज अदालतले थुनामा पठाउने निर्णय गरेको हो।

न्यायाधीश नवीनकुमार जोशीको इजलासमा आज भएको थुनछेक बहसपछि अदालतले अनुसन्धानका लागि उनलाई जेल चलान गर्ने आदेश दिएको अदालतका स्रेस्तेदार किरणकुमार सिंहले जानकारी दिए। अदालतले शिवाकोटीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उपचारका लागि आवश्यक प्रबन्ध गर्न झापा कारागार प्रशासनलाई निर्देशनसमेत दिएको छ।

शिवाकोटीलाई गत मंसिर २४ गते नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेपछि उनलाई स्वास्थ्य समस्या देखिएको भन्दै बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो।

थुनछेक बहसका क्रममा शिवाकोटीको पक्षमा अशोक पोखरेल, गजेन्द्र आचार्य, टंक उप्रेती, र बालकुमार कटुवालसहितका कानुन व्यवसायीहरूले बचाउ पक्षमा तर्क गरेका थिए। तर, अदालतले उनीमाथि लागेको गम्भीर आरोपका कारण पुर्पक्षका लागि थुनामा राख्न आवश्यक रहेको ठहर गरेको छ।

घटनाले स्थानीयस्तरमा ठूलो चासो र चर्चा पाएको छ। नाबालिका तथा महिला अधिकारकर्मीहरूले पीडितलाई न्याय दिलाउन उचित अनुसन्धान र कारबाही गर्न माग गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 455

प्रतिक्रिया (०)

सम्बन्धित खबर