आज (सोमबार) बराहक्षेत्र चताराधामका जगतगुरु श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य महायोगी शिद्धबाबाले महायाग सफलताका लागि ५१ हजार रुपैयाँ सहयोग गर्दै सम्पूर्ण देशवासीलाई महायाग सम्पन्न गर्न योगदान दिन आह्वान गरेका छन्। महायोगीले महायाग झापावासीको गर्वको विषय हो भन्दै यसलाई सफल बनाउन सबै पक्षको साथ आवश्यक रहेको बताए।
अगुवा व्यवसायी, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवाश भट्टराईले पनि महायागका लागि ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। उनले महायागको तयारीका लागि स्थानीय, प्रदेश र संघीय सरकारबाट समेत सहयोग जुटाउन पहल गर्ने बताए।
महायाग आयोजना सम्पन्न गर्नको लागि हरि तिम्सिना कनकाई ३१ हजार १११, कोमलप्रसाद खनाल ३१ हजार १११, सञ्ज्जन हरलालाका डिप्रुगण् असाम ८० हजार, राजकुमार गुप्ता ग्हाडी भारत ३३ हजार ६००, सरोज शर्मा डिप्रुगढ असाम ४९ हजार ६००, नन्दलाल धिमाल अर्जुनधारा–७, ७३ हजार विनादेवी गोदार थापा बिर्तामोड ३, ५५ हजार १११ रुपैया आर्थिक सहयोग गर्ने प्रतिवद्धता प्राप्त भएको आचार्य पंडित खतिवडाले जानकारी दिए ।
पीठका आचार्य पं. लक्ष्मीप्रसाद खतिवडाका अनुसार, यो महायाग वैदिक विधिहरूद्वारा अभिषेक, पाठ, र हवन सम्पन्न गरिने महायज्ञ हो। ’अतिरुद्र महायाग’ भनेको १४,६४१ पटक रुद्री पाठ गरेर अभिषेक गर्ने विशेष प्रक्रिया हो, जसलाई वैदिक परम्परामा अत्यन्त पवित्र र महत्त्वपूर्ण मानिन्छ।
महायाग सम्पन्न गर्न अनुमानित दुई करोड रुपैयाँ आवश्यक पर्ने भएकोले रकम संकलन र प्रचार–प्रसार अभियान अघि बढाइएको छ। महायागबाट उठेको यज्ञशेष दीर्घकालीन गुरुकुल संरक्षणका लागि ११ करोड रुपैयाँको अक्षयकोष स्थापनामा प्रयोग गरिने छ।
पुस २९ गते पूर्णिमाको दिन साधुटारबाट कनकाई माईसम्म जल लिएर भव्य कलशयात्रा आयोजना गरिने योजना छ। महायागका लागि सुनको फाली भएको हलोसहित गोरुले जोतेर शुभारम्भ गरिसकिएको छ।
महायाग स्थलमा श्री वेद–वेदाङ्ग संस्कृत पाठशालाको सञ्चालनले वैदिक शिक्षाको पुनर्जागरणमा पनि ठूलो योगदान दिने अपेक्षा गरिएको छ। बि.सं. २०३३ मा सुरु गरिएको पाठशाला अब आधुनिक आवश्यकता र परम्परागत मूल्यको संयोजन गर्दै अघि बढ्ने तयारीमा छ।
यो महायाग धार्मिक मात्र नभई झापा र आसपासका क्षेत्रहरूमा सामाजिक सद्भाव र धार्मिक पर्यटन प्रवद्र्धन गर्न ठोस कदम सावित हुने विश्वास गरिएको छ। महायोगी शिद्धबाबाको नेतृत्वमा सम्पूर्ण झापा क्षेत्रको पहिचान अभिवृद्धिमा महायागले योगदान पुर्याउने अपेक्षा गरिएको छ।
झापा, साधुटारमा आयोजना हुने यो महायागले धार्मिक आस्थालाई सुदृढ गर्दै सामाजिक र आर्थिक उन्नतिमा योगदान पुर्याउने दृढ विश्वास व्यक्त गरिएको छ।