शनिबार साँझ बिर्तामोड नगरपालिका–८ स्थित सुकुम्बासी टोल जाने भित्री सडकखण्डमा मोटरसाइकल ठक्करबाट ५३ वर्षीय चित्रहाङ श्रेष्ठ घाइते भएका थिए। सामान्य उपचारपछि उनी घर फर्किएका थिए, तर आइतबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परे।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको थियो। अस्पतालका मेडिकल अफिसर डा. केवल कपुरीले गरेको पोस्टमार्टममा मृत्युको कारण दुर्घटनाभन्दा निमोनिया भएको रिपोर्ट दिएपछि मृतकका परिवार र आफन्त आक्रोशित बनेका थिए।
आफन्तको विरोध र आन्दोलनपछि अस्पताल प्रशासनले पोस्टमार्टम रिपोर्ट सच्याएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काले फोनमार्फत डा. कपुरीलाई कार्वाही गर्ने आश्वासन दिएका छन्।
यो प्रकरणपछि मात्र परिवारले शव बुझेका छन्। दुर्घटनामा संलग्न मोटरसाइकल ९बा ७५ प ९११५० र त्यसका चालक बुद्ध बस्नेतलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जनाएको छ।
वडाध्यक्ष अजय कार्कीका अनुसार, दोषी चिकित्सकमाथि कडा कार्वाहीको माग गर्दै परिवारले न्यायको लागि थप पहल गर्ने योजना बनाएका छन्।