नयाँ दिल्ली – आसामको दिमा हासाओ जिल्लाको उमराङ्शु क्षेत्रमा कोइला खानीमा फसेका नौ कामदारमध्ये एक जनाको शव फेला परेको छ ।
आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले सोसल मिडिया प्लेटफर्म एक्समार्फत उक्त जानकारी दिएका हुन्।
त्यहाँ फसेका मध्ये एकजना नेपाली कामदार पनि रहेको जनाइएको छ। शव निकालिएको व्यक्तिको परिचय भने हालसम्म खुलाइएको छैन।
आसाम राइफल्स, एनडीआरएफ र एसडीआरएफको संयुक्त टोली उद्धार कार्यमा संलग्न छ। उद्धारकर्मीहरूले निरन्तर कामदारहरूको खोजी गरिरहेका छन्।
यसअघि एनडीआरएफ फर्स्ट बटालियनका डेपुटी कमान्डेन्ट एन तिवारीले समाचार एजेन्सी एएनआईलाई मंगलबार साँझ अपरेसन रोकिएको तर बुधबार बिहान फेरि सुरु भएको बताएका थिए।
यी मजदुरहरू सोमबार बिहान करिब ८ बजे आसामको दिमा हासाओ जिल्लाको उमराङ्शु क्षेत्रमा रहेको कोइला खानीबाट कोइला निकाल्न गएका थिए ।
यी कामदारहरूलाई बचाउन एनडीआरएफका उद्धारकर्मीहरूले मंगलबार विभिन्न समयमा पाँच पटक खानीभित्र पसे तर कुनै सफलता प्राप्त भएन।