Aamsanchar

प्रतिवादीहरुको थुनछेक बहस आज सक्ने तयारी

Author Image
बुधवार, पौष २४, २०८१

काठमाडौं – सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरुको थुनछेक बहस आज सक्ने तयारी गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा भइरहेको छ।
सम्भव भएसम्म आज बेलुकीसम्म बाँकी ३ जना प्रतिवादीहरु कृष्णबहादुर गुरुङ, आरती गुरुङ, र पूर्वसांसद मीना गुरुङका तर्फबाट कानुन व्यवसायीहरुको बहस सक्ने तयारी गरिएको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए।

यसअघि हिजो रास्वपा सभापति लामिछानेतर्फका कानुन व्यवसायीको बहस सकिएको थियो। लामिछाने पक्षका कानुन व्यवसायीको बहस सकिएसँगै अर्का प्रतिवादी रामबहादुर खनालतर्फका कानुन व्यवसायीको बहस पनि हिजै शुरु भएको थियो।

खनालका तर्फबाट भने हिजो उज्ववल सापकोटा र वरिष्ठ अधिवक्ता विरेन्द्र केसीले बहस गरे। खनाल पक्षबाट आज एक जनाले बहस गर्ने श्रेस्तेदार खनालले बताए। आज सबै प्रतिवादीका तर्फबाट बहश सकिएको खण्डमा भोलिदेखि सरकारी वकिललाई जवाफी बहस गराउने अदालतको तयारी छ।

जवाफी बहस सकिएपछि अदालतले प्रतिवादीहरु सबै वा केहीलाई साधारण तारेख वा धरौटीमा रिहा गर्ने अथवा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)