झापा– भारतको पानीट्याङ्कीबाट ब्राउन सुगर ल्याउँदै गर्दा दुई जना व्यक्ति काँकरभिट्टास्थित पुरानो मेची पुलबाट पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका–४, रवि निवासी ३१ वर्षीय दिलप्रसाद राई र सोही पालिकाको वडा नं. ५ स्थायी ठेगाना भई हाल दमक–२, हिमालय टोलमा डेरा गरी बस्दै आएकी २९ वर्षीया स्मारिका नेम्बाङ रहेका छन्।

उनीहरूले पतञ्जली दूध लेखिएको बिस्कुटको प्याकेटभित्र लुकाएर ब्राउन सुगर ल्याएका थिए। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, प्लास्टिकबाहेक ४ ग्राम ब्राउन सुगर बरामद गरिएको छ। पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ।

प्रहरीका अनुसार, यसअघि पनि मेची पुल क्षेत्र लागुऔषध तस्करीको संवेदनशील क्षेत्रको रूपमा चिनिएको छ। पछिल्लो समय प्रहरीको निगरानीमा भएका पक्राउहरूले लागुऔषध नियन्त्रण अभियानमा मद्दत पुगेको बताइएको छ।

