इलाम-इलाममा महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । आगामी माघ २७ देखि फागुन २ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई यो खोप दिइन लागेको हो ।
कक्षा छदेखि दशसम्मका सबै किशोरीहरु र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका सबै किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।
कार्यालयले आज एक अभिमुखीकरण गर्दै महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर, त्यसको लक्षण, रोकथाम र उपचारका विषयमा समेत जानकारी गराएको हो । किशोरीहरुलाई नै यो खोप दिँदा भविष्यमा उनीहरुमाथि हुुने क्यान्सर रोगको सङ्क्रमण कम हुने विश्वास गरिएको जिल्ला स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले बताउनुभयो ।
यसपटक इलाममा नौ हजार ८२८ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको कार्यालयका खोप सुपरभाइजर गंगाधर पण्डितले जानकारी दिनुुभयो ।