Aamsanchar

पुलमा फोटो खिच्न पाइने तर तर्न नपाइँने !

Author Image
शुक्रवार, पौष २६, २०८१

नवलपुर – विनयी त्रिवेणी— ६ का प्रेमचन्द्र रौनियार नारायणी नदी माथि झोलुंगेपुल बनेपछि अब यहाँको धार्मिक पर्यटनमा उल्लेख्य वृद्धि हुनेमा आशावादी थिए। नेपाली भूभाग हुँदै ऐतिहासिक महत्वको बाल्मीकि आश्रम पुग्ने एकमात्र पहुँचको मार्गमा जोड्ने पुल सञ्चालनमा अवरोध हुँदा उनी आजकल निराश छन्।

चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाको कारण देखाउँदै पुल सञ्चालनमा रोक लगाएपछि उनी जस्तै त्रिवेणीका अन्य बासिन्दा पनि निराश देखिन्छन्। ‘९ वर्ष लगाएर पुल बनेको थियो, अहिले सञ्चालन नहुँदा यसले यहाँको धार्मिक पर्यटनमा असर परेको छ। विभिन्न बहाना बनाएर पुल सञ्चालनमा अबरोध गर्नु दुःखद् कुरा हो।’, रौनियारले भने, ‘पुल बनेको छ, हेर्न पाइन्छ, फोटो खिच्न पाइन्छ तर पुल तरेर पारि जान पाइँदैन।’ रौनियारले आक्रोश पोखे।

गत साउन २८ गतेदेखि पुलको विधिवत् सञ्चालन भए पनि फेरि निकुञ्जले पुल सञ्चालनमा रोक लगाएको हो। पुल उद्घाटनका दिन जिल्लाका सांसद, पालिका प्रमुखहरू, सरकारी कार्यालयका प्रमुखहरूलगायत सबै सरोकारवालाहरू सहभागी थिए। त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्र विकास समितिका अध्यक्ष स्वामी कृष्ण प्रपन्नाचार्यले झोलुंगेपुल निर्माण भएर पनि सञ्चालनमा अवरोध गरिनुले यस क्षेत्रको धार्मिक पर्यटनमा निकै असर पुगेको बताए। उनले भने, ‘निकुञ्जकै सहमतिमा पुल पारि निकुन्ज क्षेत्रमा पैदल मार्ग बनाएर पुल सञ्चालन भएको थियो, अहिले फेरि विभिन्न बहाना बनाएर सञ्चालनमा अवरोध गरिएको छ।’ झोलुंगेपुल निर्माण हुन लाग्दा नै विभिन्न अवरोध सिर्जना भएको भन्दै यसको निर्माणपछि पनि सञ्चालन नहुनु दुःखद् विषय भएको उनको भनाइ छ।

‘पुलको मुखमा सुरक्षा जाँचका लागि सेना राख्नुपर्छ भनेर हामीले त्यहाँँ सेना बस्ने भवन पनि बनायौं तर विभिन्न बहाना बनाएर रोकिएको छ, सेनाका लागि बस्ने पूर्वाधार तयार भइसकेको छ।’ स्वामी प्रपन्नाचार्यले भने। उनले पुल सञ्चालन नहुँदा आफ्नो भूमि हुँदै वाल्मीकि आश्रम पुग्ने नेपाली धार्मिक पर्यटकको चाहनामा सरकारी निकायहरू बाधक बन्न नहुने बताए। २०७० सालमा निर्माण सुरु गरिएको सो पुल २०७९ सालमा निर्माण सम्पन्न भए पनि २०८१ साउनसम्म सञ्चालनमा आएको थिएन। गत साउनमा सञ्चालन गरिएको भए पनि फेरि पुल सञ्चालनमा निकुञ्जले रोक लगाएको हो। यो झोलुंगेपुलले नवलपुरको विनयी त्रिवेणी—६ र चितवनको माडी नगरपालिका— १ लाई जोड्छ। यो पुल तरेपछि पैदल मार्ग हुँदै ४५ मिनेटमा वाल्मीकि आश्रम पुग्न सकिन्छ। स्थानीयहरूको श्रमदान र त्रिवणी गजेन्द्र मोक्षधाम क्षेत्र विकास समितिको लगानीमा पुल तरेर वाल्मीकि आश्रम जाने पैदल मार्ग बनेको थियो।

त्रिवेणी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष धीरज थापाले निकुञ्जले सुरक्षाको कारण देखाएर पुल सञ्चालनमा रोक लगाएको बताए। ‘आर्मी बस्ने ठाउँ निर्माणाधीन अवस्थामा रहेकाले अहिले पुल सञ्चालनमा रोक लगाएको हो, त्यो ठाउँ बनेपछि पुल सञ्चालन हुन्छ भनेको छ।’ उनले भने। थापाले पुल सञ्चालन नहुँदा भारतीय भूमि हुँदै वाल्मीकि आश्रम जानुपर्ने भएकाले तीर्थयात्रीहरूलाई असहज भएको बताए। ‘भारतीय भूमि प्रयोग गरेर झन्झटिलो प्रक्रिया पूरा गर्दै जानुपर्छ। यसले सबैलाई अप्ठ्यारो बनाएको छ, यहाँको धार्मिक पर्यटनमा समेत असर पुगेको छ।’ थापाको भनाइ छ। उनले सेना बस्ने पूर्वाधार तयार भएपछि पुल सञ्चालन हुनेमा आफू आशावादी रहेको बताए।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराका प्रवक्ता अविनाश थापामगरले सुरक्षाकै कारण निकुञ्जले केही समयका लागि पुल सञ्चालनमा रोक लगाएको बताए। ‘वन्यजन्तुको सुरक्षाको कुरा हुन्छ, तीर्थयात्रीहरूको सुरक्षाको कुरा हुन्छ। त्यसकारण रोक लगाएका हौं।’ उनले भने। सेना तथा कर्मचारी बस्ने पोस्ट तयार भइरहेको भन्दै उनले त्यसपछि प्रवेश अनुमति जारी गरेर पुल सञ्चालन गर्न सकिने बताए। ‘चोरी सिकारीको जोखिम पनि हुन्छ, सबै सुरक्षाको प्रत्याभूति भएपछि पुल सञ्चालन हुन्छ, बनेपछि सञ्चालन गर्न नदिने भन्ने कुरा भएन,’ उनले भने।

विनयी त्रिवेणी वडा नम्बर ६ का वडाध्यक्ष नुरेन्द्र शाहले पनि निकुञ्ज प्रशासनले नै रोक लगाएको बताए। उनले भने, ‘निकुञ्जले सुरक्षाको कारण देखाएर हाललाई पुल सञ्चालनमा रोक लगाएको हो। पुल सञ्चालन गर्नेबारे हामी निकुञ्ज प्रशासनसँग निरन्तर समन्वय गरिरहेका छौं।’ शाहले आर्मी र कर्मचारी बस्ने भवन तयार भइसकेको बताए। ‘भवन तयार छ, छिट्टै सेना र कर्मचारी पठाइदिनुस् भनेका छौं। चिफ वार्डेनको सरुवा भएका कारण पनि ढिलाइ भएको छ,’ उनको भनाइ छ। माघीऔंसीका अवसरबाट सञ्चालनमा ल्याउनुपर्छ भनेर आफूले पहल गरिरहेको उनले बताए। माघी औंसीमा त्रिवेणीमा ठूलो धार्मिक मेला लाग्ने गर्छ। शाहले झोलुंगेपुल तत्काल सञ्चालनमा ल्याउन मागसमेत गरे।

त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रश्वर भुसालले पुल सञ्चालन नहुँदा यस क्षेत्रको धार्मिक पर्यटकीय गतिविधिमा असर पुगेको बताए। उनले भने, ‘पुल सञ्चालन हुँदा यहाँका नागरिकमा उत्साह थियो, तर त्यो धेरै दिन टिक्न पाएन।’ भुसालले नेपाली भूमि प्रयोग गरेर वाल्मीकि आश्रम जान यो पुल एकमात्र विकल्प भएकाले यसको सञ्चालनमा रोक लगाउन नहुने बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर