चारपाने । झापा बिर्तामोड–२, चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा आज माइन्युट प्रमाणिकरण सभा गरेर सम्पन्न भएको छ । संसथाको सभाहलमा भएको सभाले आर्थिक वर्ष २०८०/०८१ को वित्तीय प्रतिवेदन र आगामी वर्षका लागि नीति तथा बजेट पारित गरेको छ । सहकारी ऐन–२०७४ र प्रदेश सहकारी नियमावली–२०७६ अनुसार आयोजित यस साधारण सभामा विभिन्न १७ वटा महत्वपूर्ण प्रस्तावहरू सर्वसम्मतिले पारित गरित गरिएको हो ।
सञ्चालक समितिले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन साधारण सभाबाट पारित भएको छ । प्रतिवेदन अनुसार, सहकारीको आर्थिक स्थिति सुदृढ रहेको र सदस्यहरूको बचतमा उल्लेखनीय वृद्धि भएको देखिएको छ ।
साधारण सभाले आ.व. २०८०/०८१ को मुनाफाबाट सेयर सदस्यहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । साथै, कर्मचारीहरूको योगदानलाई सम्मान गर्दै बोनस वितरणसम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ ।
आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सहकारीले नीति तथा बजेट सार्वजनिक गर्दै, डिजिटल सेवा विस्तार र सेवा केन्द्रहरूको आधुनिकीकरणलाई प्राथमिकता दिएको छ । यसका लागि सेवा केन्द्रहरूको आन्तरिक सजावट र संरचना निर्माणका लागि खर्च अनुमोदन गरिएको छ ।
साधारण सभाले आगामी वर्षका लागि ऋण लगानीको सीमा र प्रक्रिया स्वीकृत गर्दै गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि पनि निर्णय गरेको छ ।
संस्थाको कार्यक्षमतामा सुधार ल्याउनका लागि साधारण सभाले विनियम संशोधनसहितका नीति तथा निर्देशिकामा परिमार्जनलगायतका प्रस्थावहरु पारित गरिएको छ ।
कार्यसूचीका विषयमा व्यापक छलफलका लागि संस्थाले आफ्नो कार्यक्षेत्रलाई ७ एकाइ र ८६ उप–एकाइमा विभाजन गरी सदस्यहरूसँग परामर्श गरेको थियो। यसले सदस्यहरूको सहज सहभागिता सुनिश्चित गरेको छ ।
संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले सहकारीको प्रगति रिपोर्ट प्रस्तुत गर्दै सदस्यहरूको सहकार्य र विश्वासका कारण संस्था यस स्थानमा पुगेको बताएका छन्। उनले भने, “हामी डिजिटल प्रविधिको प्रयोग र पारदर्शितालाई प्राथमिकतामा राख्दै सहकारीको विस्तारलाई थप सबल बनाउनेछौं।“
सदस्यहरूले सहकारीले गरेका नयाँ निर्णयहरूप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। डिजिटल सेवाको विकास र संस्थाको वित्तीय पारदर्शिताले सदस्यहरूको विश्वास अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
साधारण सभाको प्रतिवेदन संस्थाको वेबसाइट र फेसबुक पेजमा पनि उपलब्ध हुनेछ बताइएको छ ।
सहारा नेपाल बचत तथा ऋण सहकारीको यस किसिमको कार्यशैलीले सहकारी क्षेत्रमा पारदर्शिता र डिजिटल रूपान्तरणको सन्देश दिएको छ ।
संस्थाका अध्यक्ष हरिप्रसाद राजवंशीको अध्यक्षतामा आयोजित माइन्युट प्रमाणिकरण साभामा संस्थाका उपनिर्देशक दिनेश निरौलाले प्रस्थाव साझा गरेका थिए ।
कार्यक्रममा सल्लाहाकारहरु देउमान थेवे, केशवप्रसाद ओझालगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष डम्बरबहादुर देउजाले गरेका थिए ।