Aamsanchar

धरानका पत्रकार गोपाल दाहालमाथिको घटनाबारे स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

Author Image
आइतवार, पौष २८, २०८१

सुनसरी ।  नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले धरानका पत्रकार गोपाल दाहालसँग जोडिएको घटनाबारे स्थलगत अध्ययन गर्न गठन गरेको मिडिया मिसनले प्रतिवेदन पेस गरेको छ। उक्त मिसनमा केन्द्रीय सदस्यद्वय कमल रिमाल र शंकर खरेल, महासंघ कोशी प्रदेशका अध्यक्ष भरतबहादुर खड्का, सुनसरी शाखाका अध्यक्ष सन्तोष काफ्ले, र वरिष्ठ पत्रकार हर्ष सुब्बा सहभागी थिए।

मिडिया मिसनले घटनासँग सम्बन्धित पक्षहरूसँग छलफल गरी तयार पारेको प्रतिवेदनले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईका गतिविधिले प्रेस स्वतन्त्रता, प्रशासनिक पारदर्शिता, र पत्रकारहरूको सुरक्षामा गम्भीर समस्या उत्पन्न गराएको जनाएको छ।

प्रतिवेदनका प्रमुख निष्कर्षहरू
सामाजिक दुरी र द्वन्द्वको वृद्धि

नगर प्रमुख हर्कराज राईका गतिविधिले समाजमा दुरी र द्वन्द्व सिर्जना गरेको पाइएको छ।
आलोचनात्मक समाचार लेख्ने पत्रकारलाई धम्की, गालीगलौज, र अपमान गर्ने गतिविधि भएको छ।

पत्रकारहरूलाई लक्षित धम्की र मानसिक तनाव

प्रमुख राईले पत्रकार गोपाल दाहाललगायत अन्य पत्रकारहरूलाई गाली बेइज्जती गरेको, धम्की दिएको, र परिवारसम्म असर पु¥याउने कार्य गरेको देखिएको छ।
पत्रकारका छोराछोरीले समेत धम्कीपूर्ण सामाजिक सञ्जाल सामग्रीको डरले विद्यालय जान डराएको घटना उल्लेख छ।

सूचना प्रवाहमा अवरोध

नगर प्रमुखले व्यावसायिक पत्रकारलाई निशाना बनाउने, सूचना उपलब्ध गराउन अस्वीकार गर्ने, र आफ्नो पक्षमा प्रचारप्रसार गर्न युट्युबरहरूलाई प्रयोग गरेको देखिएको छ।

आर्थिक पारदर्शितामा प्रश्न

श्रमदान अभियानलाई सकारात्मक मानिए पनि, त्यसबाट संकलित रकम उपमहानगरपालिकाको खातामा जम्मा नगरी निजी खातामा राखेकोले आर्थिक पारदर्शितामा गम्भीर प्रश्न खडा भएको छ।

प्रेस स्वतन्त्रतामाथि अतिक्रमण

पत्रकार दाहाललाई ज्यान मार्ने धम्की, प्रेस स्वतन्त्रतामाथि आक्रमण, र पत्रकारको सुरक्षामा जोखिम उत्पन्न भएको प्रतिवेदनमा उल्लेख छ।

महासंघको कदम
नेपाल पत्रकार महासंघले उक्त प्रतिवेदन गृहमन्त्री र सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई हस्तान्तरण गरी दोषीमाथि कानुनी कारबाही र पत्रकारको सुरक्षाका लागि सुरक्षित वातावरण निर्माणको माग गर्ने तयारी गरेको छ।

महासचिव रामप्रसाद दाहालले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको संरक्षण गर्न सबै पक्षलाई आग्रह गर्दै, यस्ता घटनाको पुनरावृत्ति रोक्न तत्काल कदम चाल्न जोड दिएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)