Aamsanchar

झापामा अनेरास्ववियु : नेता–कार्यकर्तामा असन्तुष्टि बढ्दै

Author Image
आइतवार, पौष २८, २०८१

झापा। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु झापा जिल्ला कमिटीका नेता–कार्यकर्तामा असन्तुष्टि बढ्दै गएको छ। पछिल्लो समय संगठनभित्र गुटबन्दी र आन्तरिक विवादका कारण जिम्मेवारीबाट अलग हुने तथा निष्क्रिय रहने क्रम तीव्र देखिएको छ।

हिजो मात्र मेची क्याम्पसको ३५औँ अधिवेशनपछि झापा जिल्ला उपाध्यक्ष अरुण तिम्सिनाले आफ्नो जिम्मेवारीबाट पदमुक्त भएको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले जिम्मेवारी त्याग्ने निर्णयको जानकारी गराउँदै गुटबन्दीले ग्रसित संगठनभित्र रहन मन नलागेको उल्लेख गरेका छन्। तिम्सिनाले राजनीतिक गतिविधिप्रति वितृष्णा बढ्दै गएको र संगठनभित्रको वातावरण असहज भएको जनाएका छन्।

तिम्सिनालेको निर्णयअघि झापा जिल्ला कमिटी सदस्य तथा हल्दिबारी इन्चार्ज अभिषेक खतिवडा, मेची क्याम्पसका नेता तथा अनेरास्ववियु हल्दिबारी गाउँकमिटीका अध्यक्ष आशिष खरेल, सहसचिव विवेक खतिवडालगायतका थुप्रै नेता–कार्यकर्ताहरू पनि संगठनबाट निष्क्रिय बनेका छन्। तिम्सिना विगत १० वर्ष देखि विद्यार्थी राजनीतिका सक्रिय रहदै आएका थिए ।

झापामा पार्टीभित्रका आन्तरिक समस्या र गुटबन्दीका कारण युवा विद्यार्थीहरू संगठनबाट टाढा रहन थालेका छन्। नेतृत्व तहमा विवाद र गुटबन्दीले विद्यार्थी संगठनहरूप्रति मोह घट्दै गएको विश्लेषण गरिएको छ।

विशेषतः झापा जस्तो जिल्लामा, जहाँ अनेरास्ववियुको बलियो प्रभाव थियो, पछिल्लो घटनाक्रमले संगठनको कार्यक्षमतामा गम्भीर असर पारेको देखिन्छ। यस्ता असन्तुष्टिका कारण संगठनभित्र सुधारको माग र नेतृत्व परिवर्तनको बहस समेत चुलिएको छ।

झापाको यो परिस्थितिले विद्यार्थी आन्दोलन र संगठनभित्रको नेतृत्व संकटलाई उजागर गर्दै नेकपा एमालेका भातृ संगठनहरूमाझ समसामयिक चुनौती थपिएको देखिन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर