Aamsanchar

परशुराम धाममा माघी मकर मेला

Author Image
मङ्गलवार, माघ १, २०८१

डडेल्धुरा – डडेल्धुरास्थित परशुराम धाममा माघी मकर मेला सम्पन्न भएको छ। परशुराम नगरापलिका– ५ परिगाउँस्थित महाकाली नदी किनारमा हरेक वर्ष माघे संक्रान्तिमा मेला लाग्ने गरेको छ। यसवर्ष करिब ६० हजार दर्शनार्थीहरुले भगवान परशुुरामको दर्शन तथा महाकाली नदीमा मकरस्थान गरेको परशुराम क्षेत्रविकास समितिका अध्यक्ष मीनबहादुर चन्दले जानकारी दिए। नेपालका चार धाममध्येको एक कालीनदी किनारमस्थित परशुरामधाममा सोमबार रातिदेखि श्रद्धालुहरूको भीड देखिन्थ्यो। परशुराम तीर्थमा स्नान गरे गंगास्नानको समान पुण्य प्राप्त हुने पौराणिक मान्यता छ।

अझ मकर संक्रान्तिका दिन महाकाली नदीमा मकर स्नान गरे अरू तीर्थभन्दा १० गुणा बढी पुण्य कमाइने धार्मिक मान्यता छ। डडेल्धुरासहित कैलाली, कञ्चनपुर, सुदूरपश्चिमका पहाडी जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी आउने गरेका छन्। मकरसङ्क्रान्तिका बेला डडेल्धुराबाट मात्रै १६ वटा शिवालयका देउरा (चल देवता अर्थात् सुनचाँदीका आभूषणसहित शङ्ख, घण्टा, नेजाध्वजा) लैजाने चलन छ। खिट्केश्वर, भागेश्वर, असिग्राम, वैद्यनाथ, घटाललगायतका देउराहरुलाई देवघाटमा सामूहिक स्नान गराइएको छ।

करिब ८५ बिघा क्षेत्रफलमा फैलिएको परशुरामधाम क्षेत्रमा परशुराम बाबाको ५४ फिट अग्लो मूर्ति बनेपछि आन्तरिक पर्यटनलाई बढावा दिन मद्दत गरेको छ। गुरु योजना अनुसार मूर्ति, बत्ति व्यवस्थापन लगायतका काम पहिलो चरणमा सकिएको छ। दोस्रो चरणमा स्नानघाट, तटबन्ध, सडक लगायत संरचना निर्माण गरिने परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीले बताए। परशुरामधाममा पूर्वाधार निर्माणका लागि ८० करोड रुपैयाँ लागतको गुरुयोजना बनाइएको थियो। पहिलो चरण अन्तर्गत सहरी विकास मन्त्रालयको २० करोड रुपैयाँको लागतमा भौतिक पूर्वाधार निर्माणको काम भएको छ । डडेल्धुरा सदरमुकाम खलङ्गादेखि ९० किलोमिटर र कञ्चनपुरको महेन्द्रनगरबाट ३९ किलोमिटरको दुरीमा सडकमार्गबाटै परशुरामधाम पुग्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर