आज बिहान सहजकर्ताहरूबीच भएको छलफलपछि बाँकी पदमा पनि सर्वसम्मत निर्णय गरियो। कोषाध्यक्षका उम्मेदवार युवराज निरौलाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि चन्द्रमणि कट्टेल यो पदका लागि सर्वसम्मत चयन भए। यस्तै, सहसचिवका उम्मेदवार यादव पोखरेलले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि विष्णु सिग्देल निर्विरोध चयन भए।
सदस्यमा पनि सहमति
सदस्य पदमा पनि एकता देखियो। श्याम श्रीवास्तव, किरण थापा, भूपेन्द्र भण्डारी, सुशील थापा, विसन लिम्बू, दिपेन चौधरी, शैलेन्द्र कुरुङबाङ, र एजाज अहमद अन्सारी सर्वसम्मत रूपमा चयन भएका छन्।
अध्यक्ष र अन्य पदहरूमा पहिले नै सहमति
यसअघि, अध्यक्ष पदमा केदार गिरी निर्विरोध निर्वाचित भएका थिए। पुस २९ गते मनोनयन दर्ताकै दिन वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र उपाध्यक्षमा युवराज कार्की निर्विरोध चयन भएका थिए। पौडेल यसअघि सचिव पदमा सक्रिय थिए भने कार्की संस्थापक सदस्य हुन्।
सचिव पदका उम्मेदवार प्रकाश शिवाकोटीले माघ १ गते आफ्नो उम्मेदवारी फिर्ता गरेपछि बुद्ध तामाङ निर्विरोध चयन भएका थिए।
सहमतिको प्रयास सफल
निर्वाचन समितिले सहमतिको प्रयासलाई प्राथमिकता दिँदै कार्यतालिकामा पटकपटक परिवर्तन गर्दै समन्वयका लागि समय दिएको थियो। अन्ततः सबै पदमा सहमति कायम हुनुलाई गोल्डकपको सफलताको संकेतका रूपमा लिइएको छ।
नयाँ नेतृत्वप्रति आशा
नयाँ नेतृत्वले झापा गोल्डकपलाई अझ सशक्त बनाउने र खेलकुद क्षेत्रको विकासमा ठोस योगदान पु¥याउने अपेक्षा गरिएको छ। सहमतिमा भएको यो चयनले खेलकुद व्यवस्थापनमा समन्वय र साझेदारीको महत्वलाई पुष्टि गरेको छ।
झापा गोल्डकप, देशकै प्रतिष्ठित फुटबल प्रतियोगितामध्ये एक, अब अझ मजबुत व्यवस्थापनका साथ अघि बढ्ने देखिएको छ।