पशुपतिनगर- इलामको माईबेनीमा बर्सेनि लाग्ने मकरसङ्क्रान्ति मेलाका अवसरमा प्रतियोगितात्मक कृषि प्रदर्शनी भएको छ । माईजोगमाई गाउँपालिका कृषि विकास शाखाको आयोजनामा कृषि बालीलाई प्रवर्धन र बजारीकरण गर्नका लागि आयोजना गरिएको प्रतियोगितात्मक कृषि प्रदर्शनी सम्पन्न भएको हो ।
प्रतियोगितामा इलाम जिल्लाभरका ७२ जना किसानले छ वटा विधामा उत्पादित कृषि सामग्री प्रतियोगितामा राखेका माईजोगमाई गाउँपालिका कृषि विकास शाखा प्रमुख उषा प्रधानले जानकारी दिनुभयो । प्रदर्शनीमा फलफूल, तरकारी, रैथाने बाली, नगदे बाली, खाद्यान्न बाली र कन्दमूल राखिएको थियो ।
प्रदर्शनी विभिन्न क्षेत्रबाट आएका पर्यटकले अवलोकन गरेका थिए । गाउँपालिकाले प्रदर्शनीको छनोट गर्नका लागि गाउँपालिकाका आर्थिक विकास समिति संयोजक डम्बर सुवेदीको संयोजकत्वमा समिति बनाएको थियो । समितिले अध्ययन गरी प्रदर्शनीमा उत्कृष्ट उत्पादन ल्याउने किसानको छनोट गरेको थियो । प्रतियोगितामा माईजोगमाई–४ का नेत्र विष्ट पहिलो, माईजोगमाई–४ कै भक्त देवान दोस्रो, माईजोगमाई–५ का गोविन्द सन्जेल तेस्रो र इलाम नगरपालिकाका योगेश आचार्यले सान्त्वना पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई विभिन्न कृषि औजार पुरस्कारस्वरूप वितरण गरिएको माईजोगमाई गाउँपालिकाका उपाध्यक्ष प्रविना राईले जानकारी दिनुभयो । उहाँले कृषि क्षेत्रलाई प्रवर्धन गरी बजारीकरण गर्दै किसानलाई हौसला प्रदान गर्नका लागि प्रदर्शनीको आयोजना गरिएको जानकारी दिनुभयो । उपाध्यक्ष राईले भन्नुभयो, “किसानले उत्पादन गरेका वस्तुले बजार नपाई राखेको अवस्थामा यो प्रदर्शनीले बजारीकरणमा सहयोग पुग्ने अपेक्षा राखेका छौँ ।”
प्रदर्शनीमा सिमलतरुल, वनतरुल, फर्सी, मुला, सुन्तला, नरिवल, साग, मेवा, टमाटरलगायतका सामग्री राखिएको थियो । गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले पालिकाले आयोजना गरेको प्रदर्शनीले कृषि पेसा गर्ने किसानलाई पेसाप्रति सम्मान गरेको बताउनुभयो । उहाँले कृषि क्षेत्रमा उत्पादित वस्तुको बजारीकरणका लागि यस्ता प्रदर्शनीले सहयोग पुग्ने बताउनुभयो ।
माईजोगमाई गाउँपालिकाभित्रमा व्यावसायिक कृषि पेसामा लागेका पाँच हजार जनाभन्दा बढी कृषक रहेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार गाउँपालिकाको तल्लो क्षेत्रमा मनग्गे धान उत्पादन हुने गरेको छ भने माथिल्लो क्षेत्र जौवारीमा ठुलो परिमाणमा आलु उत्पादन हुने गरेको छ ।