



काठमाडौं – विश्वका सातै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका पर्वतारोही प्रकाशराज पाण्डे दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहणका लागि प्रस्थान गर्दैछन् ।

आरोही प्रकाशराज पाण्डेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानमा सफलताको शुभकामना दिइ नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्वतारोही पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै आरोहण अभियान सफलताको शुभकामना दिए । प्रधानमन्त्रीले समाजमा सकारात्मकता फैलाउने युवाहरुको सबै अभियानमा आफ्नो सधैं साथ रहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । पाण्डे जनवरी २० तारिखमा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सका लागि प्रस्थान गर्दैछन् ।


सगरमाथा, मनास्लु, आमादब्लम लगायत नेपालका विभिन्न हिमालको सफल आरोहण गरेका पाण्डेले सातै महादेशका अग्ला हिमाल चढ्ने अभियान शुरु गर्दै २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस आरोहण गरेका थिए । त्यसपछि सोही वर्षको नोभेम्बर महिनामा अफ्रिकाको अग्लो चुचुरो किलिमन्जारोको सफल आरोहण गरेका थिए ।

रामेछाप लिखु तामाकोशी-७, तिल्पुङ स्थायी घरभई हाल महालक्ष्मी नगरपालिका–२, ललितपुरमा बसोबास गरिरहेका पाण्डेले सन् २०१६ देखि पर्वतारोहण सुरु गर्दै २०१८ मा सगरमाथाको आरोहण गरेयता निरन्तर हिमालहरू चढ्दै आएका छन् ।
अब नियमितरुपमा सबै महादेशका हिमालहरु चढ्दै जाने लक्ष्य रहेको बताउँदै आरोही पाण्डेले उनको यो अभियान हिमाल चढ्ने अभियान मात्रै नरहेको प्रतिक्रिया दिए । आफ्नो अभियानका माध्यमबाट जलवायु परिवर्तनका असरहरुका बारेमा पनि कुरा उठाउने र सरोकार राख्ने सबैलाई यसतर्फ ध्यानाकृष्ट गराउने गरेको उनले बताए ।