Aamsanchar

प्रहरीको गुण्डागर्दी: चितवनमा सर्वसाधारणमाथि बुट प्रहार, संगठनकै प्रतिष्ठामा आँच

Author Image
सोमवार, माघ ७, २०८१


काठमाडौं । आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिने उद्देश्यसहित खटिने नेपाल प्रहरीले ‘प्रहरी मेरो साथी’, ‘मुस्कानसहितको सेवा’ भन्ने नारालाई आत्मसाथ गर्ने मौखिक प्रतिबद्धता धेरै पुरानो होइन ।

तर त्यही नाराको उपहास गर्दै केही प्रहरी कर्मचारीहरु गुण्डा गर्दी शैलीमा नागरिकविरुद्ध उत्रिँदा पूरा संगठनकै प्रतिष्ठामा आँच आउने गरेको छ ।

यस्तै घटना हालै पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा देखिएको छ । मध्यरात सडकमा ड्युटीमा खटिएका एक प्रहरी कर्मचारीले एक सर्वसाधारणलाई गुण्डागर्दी शैलीमा मरणासन्न हुने गरीरु बुट प्रहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी जनताको सुरक्षा गर्ने भन्दा कुटपिटमै रमाउने गरेको स्पष्ट देखिएको छ ।

चितवनको घटना भनिएको उक्त भिडियोमा एक प्रहरीले एक युवकमाथि बुटले प्रहार गरी ढलाएर पुनः बुटै–बुटले प्रहार गरी मरणासन्न बनाएका छन् ।

भिडियो हेर्नुहोस ।

भिडियोमा देखिएअनुसार प्रहरीले मोटरसाइकल चेकिङको क्रममा ती युवालाई बुटैबुटले प्रहार गरेको देखिएको छ । प्रहरीले रोकेपछि ती युवाले कसैलाई फोन गर्छु भनेपछि प्रहरी आक्रोशमा आई ती युवामाथि जाई लागेको देखिएको छ ।

ती प्रहरीले युवकलाई लातले हानेर ढलाइसकेपछि पनि लगातार आक्रमण गरिरहेका छन् । उनले अनुहारमा समेत बुटले प्रहार गरेका छन् भने लात हान्दै जिउमा समेत चढेका छन् । भिडियोमा सुनिएअनुसार ती प्रहरीले ‘कस्लाई फोन गर्छस् रे’ भन्दै बुट प्रहार गरिरहेका छन् । ती प्रहरीले युवकलाई कुटि रहँदा अन्य प्रहरी पनि मूकदर्शक जस्तै भएर बसिरहेको पनि भिडियोमा देखिएको छ ।

घटनामा युवक दोषी होलान् वा नहोलान् तर प्रहरीले देखाएको बर्बरता ज्यादै घृणायोग्य छ । ती युवकले फोन गर्छु भन्दैमा ‘पावर देखाएको भन्दै’ मरणासन्न हुने गरी कुट्नु नै पर्ने थियो वा थिएन, ती प्रहरीलाई थाहा होला । मध्यरातमा जाडोमा ड्युटी गरिरहेका प्रहरीको यो कुटाई हेर्दा उनी पनि सही हालतमा छैनन् जस्तो देखिएको छ ।

संगठनले आफू मातहतका कर्मचारीलाई केही हदसम्म नैतिक शिक्षा दिनुपर्ने देखिन्छ । घटना चितवनको भनिए पनि ती प्रहरी को हुन् भन्ने स्पष्ट खुलि नसकेको अवस्थामा कमाण्ड गरेका प्रहरीले उनलाई पत्ता लगाएर दोषीलाई उचित कारबाही गर्नु अनिवार्य छ । यदि कुनै पनि नागरिकले बोलेकै भरमा प्रहरीको बुट सहनुपर्छ भने त्यो पक्कै पनि राम्रो होइन । घटनामा ती युवक दोषी हुन् भने प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारबाहीमा लैजान सक्थ्यो, तर त्यसको बदला बुटैबुटले हानेर मरणासन्न पार्नु हुने थिएन ।

यस किसिमको घटना आफूलाई सुरक्षा दिन खटिएको प्रहरीबाटै भोग्नुपरेपछि आम जनताले प्रहरीप्रति कसरी विश्वास गर्ने रु संगठनको एउटा खराब प्रहरीले संगठनकै प्रतिष्ठामा दाग लगाउनेमात्र नभई विश्वभर नै संगठनको बदनाम गर्न पुगेका छन् ।

यसका लागि उनलाई कमाण्ड गरिरहेका अधिकृतले घटनाबारे पूर्ण जानकारी गराएर दोषीलाई कारबाही नगरेसम्म संगठनप्रतिको आमनागरिकको धारणा सकारात्मक हुनसक्ने देखिँदैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 109

प्रतिक्रिया (०)