




काठमाडौँ – यौन उत्पीडन गरेको आरोपमा प्रहरीले एकजना इनड्राइभ चालकलाई पक्राउ गरेको छ । जसमा चितवनको नारायणी नगरपालिका–४ घर भएका प्रवीण बराल छन् ।

२५ वर्षीय बराललाई थानकोटबाट समातिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।


चितवनको मुग्लिन बजारबाट काठमाडौँ जान अनलाइनमार्फत आग्रह गर्दा राइडरले ह्वाट्सएपमा म्यासेज गरेर यौन उत्पीडन गरेको भन्दै एकजना महिलाले सामाजिक सञ्जाल ‘टिकटक’मा भिडियो बयान पोष्ट गरेकी थिइन् । सो भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।


माघ २ मा राइडरले यौन उत्पीडन गरेका हुन् । यौन उत्पीडन गरेको कम्प्लेन आएसँगै इनड्राइभले बराललाई आफ्नो प्लेटफर्मबाट हटाएको छ । इनड्राइभकी निर्देशक रिता पोखरेलले भनिन्, ‘हामीले ड्राइभरलाई हाम्रो प्लेटफर्मबाट हटाएका छौँ, पीडितसँग हामी सम्पर्कमा छौँ ।’
राइडरलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई सहयोग गर्न आफ्नो कम्पनी तयार रहेको पोखरेलले बताइन् ।