चारपाने । बिर्तामोड–२, चारपानेस्थित श्री साङ्गबेद संस्कृत माध्यमिक विद्यालयको ५४औं वार्षिक उत्सवको अवसरमा अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्दुराम भण्डारीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बिर्तामोड नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तिलचन भण्डारी उपस्थित हुनुहुन्थ्यो ।

विशिष्ट अतिथिहरूमा विवेकाश्रम धामका अध्यक्ष किसोर कुमार गौतम, बिर्तामोड–२ का वडाध्यक्ष किशोरकुमार पौडेल, तथा विवेकाश्रमका उपाध्यक्ष विष्णुभक्त भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अन्य अतिथिहरूमा स्वामीप्रपन्नाचार्य गीता पुरस्कारका तर्फबाट ईश्वरादेवी सङ्ग्रौला, भानुभक्त स्मृति प्रतिष्ठानका संस्थापक देवीप्रसाद तिम्सिना, चन्द्र टिका स्मृति पुरस्कारका संस्थापक लिला बहादुर कटुवाल, र यज्ञ स्मृति अक्षय कोषका संस्थापक टंकप्रसाद पौडेल रहनुभएको थियो । साथै, एक विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने सीता देउजा, बद्री रिजाल, ओमप्रकाश र अञ्जना बिमली को पनि आतिथ्यता रहेको थियो ।


कार्यक्रमको उद्घाटन दीप प्रज्वलन र स्वस्तिवाचन गरेर गरिएको थियो । विद्यालयका सहप्रधानाध्यापक चुडामणि पौडेलले विद्यालयको तर्फबाट स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रधानाध्यापकले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको आकर्षणको रूपमा विद्यार्थीहरुले नाटक मञ्चन, शिक्षक झलक काफ्लेले कविता बाचत र विद्यार्थीहरूलाई विभिन्न पुरस्कारहरू वितरण गरिएको थियो । कार्यक्रम सञ्चालन शिक्षक सोमनाथ गौतम र भरत भट्टराईले गर्नुभएको थियो ।

