Aamsanchar

महाकुम्भ मेलामा भागदौड : १४ को मृ*त्यु, ५० भन्दा बढी घाइते

Author Image
बुधवार, माघ १६, २०८१

प्रयागराज । महाकुम्भ मेलाका क्रममा गएराति करिब १:३० बजे प्रयागराजको संगम किनारमा भागदौड मच्चिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी भक्तजन घाइते भएका छन्। दुर्घटनापछि प्रशासनले अमृत स्नान स्थगित गरेको छ।

भागदौडको कारण र घाइतेहरूको अवस्थाप्रारम्भिक रिपोर्टअनुसार, अत्यधिक भीडका कारण होहल्ला मच्चिँदा भागदौडको अवस्था सिर्जना भएको बताइन्छ। भागदौडको क्रममा केही महिला भक्तजन भुइँमा लडेपछि अन्य तीर्थयात्रीले उनीहरूलाई कुल्चिएर हिंडेका थिए। घटनापछि ७० भन्दा बढी एम्बुलेन्स घटनास्थलमा परिचालन गरिएको थियो, जसबाट घाइते र मृतकहरूलाई अस्पताल पुर्‍याइएको छ।

दैनिक भास्करकाअनुसार, स्वरूप रानी अस्पतालमा १४ वटा शव पोस्टमार्टमका लागि पठाइएको छ। यद्यपि, प्रशासनले मृत्यु वा घाइतेहरूको आधिकारिक पुष्टि गरेको छैन। संगम क्षेत्रमा भीड नियन्त्रण गर्न एनएसजी कमाण्डो तैनाथ गरिएको छ भने सर्वसाधारणको प्रवेश प्रतिबन्ध लगाइएको छ।

अमृत स्नान स्थगितअखिल भारतीय अखाडा परिषद्का अध्यक्ष रविन्द्र पुरीका अनुसार, संगम किनारमा अत्यधिक भीड भएकाले प्रशासनको अनुरोधमा अमृत स्नान स्थगित गरिएको छ। दुर्घटनालाई मध्यनजर गर्दै प्रयागराजका सिमानामा सुरक्षा कडा पारिएको छ, जसका कारण अन्य जिल्लाबाट आउने भक्तजनहरूको प्रवेश रोकिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री योगी आदित्यनाथलाई फोन गरी घटनाको विस्तृत जानकारी लिएका छन्। यसैगरी, सरकारका उच्च अधिकारीहरूले राहत तथा उद्धार कार्यलाई प्राथमिकता दिएका छन्।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ भने मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रशासनले जनाएको छ।

Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर