बिर्तामोड । कनकाई नगरपालिकाको आयोजनामा राष्ट्रपति रनिङशिल्ड नगरस्तरीय खेलकुद प्रतियोगिता आजदेखि सुरु भएको छ। तीन दिवसीय प्रतियोगिता आदर्श मावि, विद्यामन्दिर घैलाडुब्बामा शुभारम्भ गरिएको हो।

नगर खेलकुद समितिका अध्यक्ष उर्जाशील युवा जविन तिम्सिनाको अध्यक्षतामा तथा कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोख्रेलको प्रमुख आतिथ्यतामा प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको थियो। साथै, उपमेयर आशा शर्मा शिवाकोटी विशेष अतिथिका रूपमा उपस्थित भएकी थिइन ।

प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाइरहेका छन्। आज एथलेटिक्स, भलिबल र कबड्डी खेलहरू सञ्चालन भएका छन् भने भोलि तेक्वान्दो तथा पर्सि कराते खेल हुने आयोजक समितिले जनाएको छ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम माघ १८ गते दिउँसो १ बजे आयोजना गरिनेछ। विजयी खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने नगर खेलकुद समितिका अध्यक्ष जविन तिम्सिनाले जानकारी दिए।


यस खेलकुद प्रतियोगिताले नगरभित्रका विद्यार्थीहरूलाई खेलकुदप्रति आकर्षित गर्ने तथा उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलमा अघि बढ्न प्रेरित गर्ने विश्वास लिइएको छ।

