Aamsanchar

हमासले आज यि तीन जना बन्धक रिहा गर्ने

Author Image
शनिवार, माघ १९, २०८१

प्यालेस्टिनी समूह हमासले आज थप तीन जना बन्धक रिहा गर्ने भएको छ । इजरायल र प्यालेस्टिनी लडाकू समूह (हमास बीच भएको गाजा युद्धविराम सम्झौताअनुसार आज रिहा हुन लागेका इजरायली बन्धकको सूची प्राप्त भएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

प्राप्त सूचीमा ५४ वर्षका ओफर कलडेरन, ६५ वर्षीय केइथ सेगल र ३५ वर्षीय यार्डेन रहेका र उनीहरु बन्धकमुक्त हुन लागेको खबर परिवारलाई दिइएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

आज रिहा हुनेसहित हमासले रिहा गरेका बन्धकको सङ्ख्या १८ जना पुग्नेछ । हमासको नियन्त्रणमा रहेका भनिएका नेपालका विपिन जोशी यसपटकको सूचीमा पनि परेनन् ।

गएको जनवरी १९ तारिखदेखि युद्धविराम लागू भएयता प्यालेस्टाइनी लडाकु समूहले अहिलेसम्म १५ जना बन्धकलाई मुक्त गरिसकेका छन् भने बदलामा इजरायलले दुई सय ९० जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ ।

हमासले अस्ति बिहिबार पनि तीन इजरायली बन्धक र पाँच जना थाई बन्धकलाई रिहा गरेको थियो । त्यसअघि चार इजरायली महिला सैनिकसहित ७ जना रिहा भएका थिए । हमासले ६ साता लामो युद्धविरामको पहिलो चरणमा ३३ जना बन्धकहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ ।

त्यसको बदलामा इजरायली जेलमा रहेका झण्डै १९ सय प्यालेस्टिनी बन्दीहरू रिहा हुनेछन् । युद्धविरामको दोस्रो चरणको वार्ता पहिलो चरण सुरू भएको १६ दिनमा हुने सम्झौतामा उल्लेख छ । दोस्रो चरणमा बाँकी बन्धकलाई रिहा गरिनुका साथै गाजा क्षेत्रबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने उल्लेख छ ।

Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर