Aamsanchar

उत्तरे पोखरी सिमसार संरक्षण गुरु योजना पारित

Author Image
सोमवार, माघ २१, २०८१

माईजोगमाई । विश्व सिमसार दिवसको अवसरमा माईजोगमाई गाउँपालिका र सहयात्रा नेपाल ईलामको संयुक्त आयोजनामा उत्तरे पोखरी सिमसार संरक्षण गुरु योजना २०८१ को मस्यौदा पारित गरिएको छ।

कार्यक्रममा सहयात्रा नेपालकी अध्यक्ष हेमकुमारी सिवाको अध्यक्षता, गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आतिथ्य, तथा गाउँपालिका उपाध्यक्ष प्रविना राईको विशेष आतिथ्यता रहेको थियो। साथै, विभिन्न वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सव डिभिजन वन कार्यालयका वन अधिकृत, इलाका प्रहरी कार्यालय नयाँबजारका इन्चार्ज, तथा उत्तरे पोखरी सिमसार संरक्षण समिति, सामुदायिक वन समिति, छिपछिपे सिमसार संरक्षण समिति, नयाँबजार बजार व्यवस्थापन समिति लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

पर्यटन, कृषि र संरक्षणलाई प्राथमिकता
गुरु योजनामा कृषि, पर्यटन, खानेपानी संरक्षण लगायतका विषयलाई समेटिएको छ। स्थानीयका अनुसार उत्तरे पोखरीको व्यवस्थित संरक्षण र विकासले यस क्षेत्रका बासिन्दाको आयआर्जनमा महत्वपूर्ण योगदान पुग्नेछ।

अतीतमा पोखरीको पानी सुकेको समस्या देखिएकाले गाउँपालिका र सहयात्रा नेपालको लगानीमा पानी जोगाउने लागि वाल निर्माण, तथा भूगर्भविद्को सहयोगमा अन्य आवश्यक संरचनाहरू निर्माण गरिएको थियो।

इतिहास र प्राकृतिक विशेषता
करीब ३३५ मिटर परिधि भएको उत्तरे पोखरी संरक्षणपछि यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ। यद्यपि, पोखरीको उत्पत्ति सम्बन्धी यकिन प्रमाण फेला परेको छैन। स्थानीय बुढापाकाका अनुसार, बालागुरु यस क्षेत्रमा आउँदा पोखरी बारेर भैंसीलाई आहाल खेलाउने गर्थे भन्ने किंवदन्ती छ।

रोचक विशेषता अनुसार, पोखरी जंगलको बीचमा भए पनि यसमा कुनै रुखका पात भेटिदैनन्, किनभने पात झर्नासाथ चराहरू टिपेर लैजान्छन्। यसले पोखरीलाई थप आकर्षक बनाएको छ।

उत्तरे पोखरी सिमसार संरक्षण गुरु योजनाको कार्यान्वयनले पर्यटन प्रवर्द्धन, जैविक विविधताको संरक्षण, तथा स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन योगदान गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर