

बिर्तामोड । बिर्तामोड गायत्री माता मंरिदमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भक्तजनका लागि जुत्ता-चप्पल सुरक्षित राख्ने विषयमा विशेष व्यवस्था गरिएको छ । धार्मिक स्थलहरूमा जुत्ता-चप्पल कुल्चिने, हराउने तथा चोरी हुने समस्याले भक्तजनलाई हैरान पार्ने गरेको छ । विशेष गरी महँगा जुत्ता-चप्पल हराउँदा मानिसहरू असहज महसुस गर्ने गर्छन् ।

यस्तै समस्या न्यूनीकरण गर्न बिर्तामोडस्थित नव निर्मित गायत्री माता मन्दिरमा आयोजित पाँच दिवसीय धार्मिक कार्यक्रममा उत्कृष्ट व्यवस्थापन (पादुका सेवा) उपलब्ध गराइएको छ ।

भक्तजनलाई जुत्ता-चप्पलको सुरक्षा प्रदान गर्न आयोजक समितिले विशेष उपाय अपनाएको थियो । प्रत्येक व्यक्तिको जुत्ता-चप्पललाई प्लास्टिकको झोलामा राखेर टोकन नम्बर वितरण गरिन्थ्यो । यस व्यवस्थाका कारण जुत्ता-चप्पल हराउने वा बिग्रिने सम्भावना न्यून बनाइएको छ ।



करिब ४,००० जनाको जुत्ता-चप्पल व्यवस्थित रूपमा राख्न सकिने स्थान तयार पारिएको थियो ।
कार्यक्रमको चौथो दिनसम्म दैनिक २,००० तथा अन्तिम दिन ३,००० भक्तजनका जुत्ता-चप्पल सुरक्षित रूपमा राखिएको जुत्ता-चप्पल व्यवस्थापन उपसमिति संयोजक रितेश अग्रवालले जानकारी दिए ।
भक्तजनहरूलाई सुविधा प्रदान गर्नुका साथै धार्मिक कार्यक्रमको व्यवस्थापन स्तर पनि उन्नत बनाउँछ। यो व्यवस्थापन अन्य धार्मिक तथा सार्वजनिक कार्यक्रमहरूमा पनि अनुकरणीय हुन सक्छ।

