विर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना मृतक सदस्यहरूको ऋण मिनाह गर्दै काजकृया खर्च वितरण गरेको छ। विर्तामोड नगरपालिका वडा नं। ६ बुटाबारीमा रहेको सहारा नेपाल साकोसको बुटाबारी सेवा केन्द्रमा आबद्ध चार जना सदस्यहरूको ऋण मिनाह गरिएको हो।

संस्थाले सञ्चालन गर्दै आएको गरिबी निवारण कार्यक्रमअन्तर्गत मुनाल सहारा महिला समूहकी सदस्य विर्तामोड वडा नं. ६ की शुशिला विश्वकर्माको नाममा रहेको ६ लाख १० हजार रुपैयाँ ऋण मिनाह गरिएको छ। साथै, काजकृया खर्च वापत २५ हजार रुपैयाँसमेत प्रदान गरी ६ लाख ३५ हजारको चेक मृतकका श्रीमान् गोपाल विश्वकर्मालाई हस्तान्तरण गरिएको छ।

त्यसैगरी, बुटाबारीकै मुना सहारा महिला समूहकी सदस्य पदमकुमारी थापाको नाममा रहेको २ लाख ४० हजार रुपैयाँ ऋण मिनाह गरी २५ हजार काजकृया खर्चसहित २ लाख ६५ हजार रुपैयाँको चेक मृतकका छोरा प्रदीप थापा मगरलाई वितरण गरिएको छ। बुटाबारीकै अभिन्न सहारा महिला समूहकी सदस्य इन्दिरा सापकोटाको १० हजार रुपैयाँ ऋण पनि मिनाह गरिएको छ।
यस्तै, अर्जुनधारा-११ सालबारीस्थित गौरिशंकर सहारा महिला समूहकी सदस्य चन्द्रमाया लम्जेलको ३ लाख रुपैयाँ ऋण मिनाह गरिएको छ। लम्जेलका पति हर्कबहादुर लम्जेलको केही महिना अघि निधन भएको थियो।

सहारा नेपाल साकोसले आफ्ना सदस्यहरूका परिवारलाई जन्मदेखि मृत्युसम्म सहयोग गर्ने नीति अनुरूप सेयर सदस्य र सदस्यका श्रीमान्को निधन हुँदा कर्जा सुरक्षा योजनाअन्तर्गत ऋण मिनाह गर्दै आएको सहारा नेपाल साकोस अनुगमन कार्यालय चारआलीकी अनुगमन अधिकृत गोमा बस्नेतले जानकारी दिनुभयो।


कार्यक्रममा वडा अध्यक्ष कन्दङवाले सहारा नेपाल साकोसले समाज र गरिबी निवारणमा खेलेको भूमिकालाई महत्वपूर्ण रहेको भन्दै वडा कार्यालयले संस्थाका अन्य कार्यक्रमहरूमा पनि समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

