



काठमाडौं – सारंगी वादक एवं वरिष्ठ लोकगायक लालबहादुर गन्धर्वको बिहीबार निधन भएको छ।

लोक सङ्गीत क्षेत्रमा महत्वपुर्ण योगदान दिने गन्धर्व समुदायका प्रमुख व्यक्तित्व गन्धर्वको निधनसँगै नेपाली लोक सङ्गीतको एक युगको समाप्त भएको छ।


उनका संगीत, लाइभ कर्खा र मङ्गल गीतहरूले नेपाली लोक सङ्गीतलाई नयाँ उचाइमा पुर्याएको थियो।


पृथ्वीनारायण शाहको जीवनी, जङ्गबहादुरको सत्ता उत्थान, नब्बे सालको महाभूकम्प, विश्वयुद्ध, डॉफे चरी लगायतका अनेकन कर्खा, सवाई उहाँले रेडियो नेपालमा गाउनुभएको उहाँको गायन र सारङ्गी वादनले राष्ट्रिय स्तरमा ख्याती कमाएका थिए।
लाल बहादुर गन्धर्वको जन्म २००२ सालको वैशाख १४ गते सल्यानको बयलडाँडाँमा भएको थियो। ९ वर्षको उमेरदेखि सारङ्गी बजाउन थालेका गन्धर्व लामो समयदेखि गोरखाको घ्याम्पेसालमा बस्दै आएका थिए।
उनले २०११ सालबाट आफ्नो सङ्गीतिक यात्रा सुरु गरेका थिए। २०२२ सालमा राजा महेन्द्रको अगाडी भूमी सुधारको गीत गाएर रेडियो नेपालमार्फत लोक सङ्गीतको क्षेत्रमा योगदान गर्न थालेका गन्धर्वले नेपाली सङ्गीतलाई बचाउन र प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका निभाएका थिए।
गन्धर्वको निधनले लोक सङ्गीत क्षेत्रमा अपूरणीय क्षति पुर्याएको छ।