



सन् २०२३ मा पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएपछि, विश्वभरका नेपाली कलाकारहरू माझ यस प्रतियोगिताले उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको थियो। यही सफलतालाई निरन्तरता दिँदै दोस्रो सिजनलाई अझ भव्य बनाउने योजना गरिएको छ ।

आज बिर्तामोडमा एक कार्यक्रमका बिच अडिसन घोषणा गरिएको हो । कोशी प्रदेशको झापा बिर्तामोड स्थित गृनफिल्ड स्कुल बिर्तामोडमा आगामी चैत्र २ र ३ गते अडिसन कार्यक्रम आयोजना गर्ने कोशी प्रदेशका संयोजक रूपक ओडारीले जानकारी दिए ।




मेरो भ्वाइस युनिभर्स नेपालको सबै भन्दा ठुलो धन राशीको रियालिटी सो रहने आयोजकले दावी गरेको छ । प्रतियोगितामा प्रथम हुनेले १ करोड, दोस्रोले २५ लाख र तेस्रो हुनेले १० लाख नेपाली रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी मेरो डान्स युनिभर्स तर्फ प्रथम हुने टोलीले नगद २० लाख, दोस्रोले १० लाख र तेस्रो हुनेले ५ लाख नेपाली रुपैयाँ पाउने छन् ।
मेरो भ्वाइसमा वरिष्ठ गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायक शिव परियार, पुष्प प्रधान र गायिका अञ्जु पन्त निर्णायक बन्ने छन् । त्यस्तै मेरो डान्स युनिभर्समा वरिष्ठ कलाकार मिथिला शर्मा, अभिनेता दिलीप रायमाझी, अभिनेत्री शिल्पा मास्के, कोरियोग्राफर शङ्कर विसी, कविराज गहतराज, किरण थापा रहने निश्चित भएको नेपाल– भारत संयोजक राजेश घतानीले जानकारी दिए ।
रियालिटी सो मा रिमा विश्वकर्मा, नरेश भट्टराई, राजा राजेन्द्र पोखरेल, नम्रता श्रेष्ठले कार्यक्रम सञ्चालन गर्ने छन् ।
विश्वमा रहेका धेरै भन्दा धेरै नेपालीभाषी प्रतिभाहरूलाई समेट्ने उद्देश्यले युरोपका देशहरूः बेलायत, पोर्चुगल, पूर्वी एशियाः थाइल्याण्ड, हङकङ, जापान, मध्यपूर्वः दुबई, कतार, अष्ट्रेलियाः सिड्नी, भारतः सिलिगुडी, मुम्बई र नेपालको बिर्तामोड, नेपालगञ्ज, पोखरा, र काठमाडौंमा अडिशन हुने कोशी प्रदेश अर्का संयोजक राम बनियाले आमसञ्चाललाई जानकारी दिए ।
इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले नेपाली भाषा, कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकता दिँदै प्रतियोगिता सञ्चालन गरिरहेको छ ।
आयोजक संस्थाले अडिसन आवेदन खुला गरिसकेको छ । जसका लागि इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको वेभसाइड www.intrafoundatons.org वा फेसबुक पेज मार्फत आवेदन दिन सकिने बताइएको छ ।
आज भएको पत्रकार भेटघाट कार्यक्रममा झापाली गीतकार शिवशंकर थापाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा इन्ट्रा फाउण्डेसनका सदस्य देउमान भारती, कता तथा संगीत क्षेत्रमा आवद्ध झलक मगर, गोपाल अधिकारी, ध्रुव पाठक, कृष्ण योञ्जन, हेमा योञ्जन, दिपक रायमाझी, फुर्वा लामा लगायतको उपस्थिती रहेको थियो ।