



जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, लु ४६ प ६१६१ नम्बरको मोटरसाइकल प्रयोग गरी अवैध रूपमा सुन ओसारपसार भइरहेको सूचना प्राप्त भएपछि सादा पोशाकका प्रहरी टोली खटाइएको थियो। खोजतलास गर्ने क्रममा घोराही उपमहानगरपालिका १५, ट्राफिक चोक नजिकै उक्त मोटरसाइकलमा सवार घोराही १४, मिलन चोक निवासी २५ वर्षीय रन्जित रसाइलीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।

प्रहरीले रसाइलीको शरीर तलासी गर्दा सुन जस्तो देखिने ४९७.०४ ग्राम तौल भएको दुईवटा सिक्री र सानो डल्ला बरामद गरेको जनाएको छ। साथै, उनको साथबाट विभिन्न दरका नेपाली रुपैयाँ गरी कुल एक लाख सात हजार आठ सय रूपैयाँ नगदसहित पक्राउ गरिएको छ। प्रहरीका अनुसार, उनी सवार मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।


हाल पक्राउ परेका रसाइलीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

