


ऐतिहासिक, पौराणिक स्थल भनिए पनि उक्त स्थलहरूमा निर्माण गरिएका भौतिक पूर्वाधारहरूलाई हेर्दा ऐतिहासिकता नझल्कने अवस्था रहेकोले यस्तो किसिमको भौतिक संरचना बनाउन नहुने, त्यस्ता ठाउँमा बन्ने पूर्वाधार निर्माणको लागि पालिकाहरूले छुट्टै नीति बनाउनु पर्ने माग राखेर एशोसिएसनले आगामी फागुन २ गते बिर्तामोडस्थित सिद्धार्थ होटल ग्राण्ड सिटी मा विशेष गोष्ठी आयोजना गर्ने आज आयोजित पत्रकार भेटघाटको क्रममा बताइएको छ ।

पौराणिक तथा पुरातात्विक ढङ्गले प्रतिष्ठित देवी, देव क्षेत्रलाई पर्यटकीय एवम् धार्मिक पर्यटकीय स्थलको रुपमा संरक्षण र विकास गर्ने उद्देश्यले निर्माण गरिने भौतिक संरचना ’ विषयमा आयोजना गरिने गोष्ठीमा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ । कार्यक्रममा धर्म, पर्यटन, निर्माण तथा नीतिगत पक्षका विशिष्ट व्यक्तित्वहरूले आआफ्ना विचार प्रस्तुत गर्ने कार्यक्रम संयोजक इन्जिनियर प्रकाशकुमार सिंहले बताए ।

गोष्ठिमा सम्पूर्ण धार्मिक स्थलको बारेमा शङ्कराचार्य पीठ साधुटारका अध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडा, पर्यटन क्षेत्रको बारेमा (ट्रेक ८५८६, पर्यटन व्यवसायी तथा गाइड ) अमिर राई निर्माण तर्फः इन्जिनियरिङ् अध्ययन संस्थान, कोशी प्रदेश क्याम्पस प्रमुख इन्जिनियर काजीराम कार्की र निर्माण नीति तर्फ ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले धारणा राख्ने भएका छन् ।


कार्यक्रममा धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण, पूर्वाधार विकास तथा नीतिगत व्यवस्थापनबारे छलफल हुने छ । गोष्ठी मार्फत झापाबाट साझा प्रतिबद्धता पत्र सार्वजनिक गरेर झापाका स्थानीय तथा राष्ट्रिय तहमा नीतिगत परिवर्तनलाई प्रेरित गर्ने आयोजकले विश्वास लिएको छ ।


कार्यक्रममा केन्द्रीय सदस्य इन्जिनियर रोशन सुवेदी, झापा शाखाका सभापति इन्जिनियर इन्द्रमणी घिमिरे, निमित्त सचिव इन्जिनियर अजित ढुङ्गाना, सदस्य इन्जिनियर नितु कोइरालालगायतको उपस्थिति रहेको थियो ।