


प्रतिकात्मक तस्वीर ।


कनकाई । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापाबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणको अवैध माछा नियन्त्रण गरेको छ। आज बिहान, सशस्त्र प्रहरी बलका मोबाईल टोलीले झापा जिल्लाको कनकाई नगरपालिका १ जामुनखाडी स्थित पूर्व पश्चिम लोकमार्गको जामुनखाडी मोड नजिकै शंका लागेर चेकजाँच गर्ने क्रममा एक पिकअप गाडीबाट १ हजार ४०० किलोग्राम अवैध माछा बरामद गरेको हो।

बरामद माछाको बजार मूल्य अन्दाजी रु. ४ लाख २० हजार रहेको छ। सशस्त्र प्रहरी बलले गाडी र चालकलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीको लागि पशु क्यारेन्टाईन कार्यालय काँकडभिट्टा बुझाएको छ।

पशु क्यारेन्टाईन कार्यालय काँकडभिट्टाका निमित्त कार्यालय प्रमुख मुकेश कुमार सिंहको नेतृत्वमा खटिएको टोलीले माछा नष्ट गर्न कार्यवाही गरेको थियो। उक्त कार्यवाहीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानिय जनप्रतिनिधि, भद्रभलाद्मी तथा पत्रकारहरुको रोहबरमा माछा खाल्डो खनी नष्ट गरिएको थियो।


सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापाका सूचना अधिकारी महेशराज बिष्टका अनुसार चालक र सवारी साधनको अनुसन्धान जारी रहेको छ र आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ।
यस प्रकारको कार्यवाहीले अवैध माछा व्यापार र तस्करीलाई कडा हदसम्म नियन्त्रणमा ल्याउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।