




तीन दिनसम्म सञ्चालन हुने उक्त गोष्ठीअन्तर्गत आज पहिलो दिन प्रिकन्फेरेन्स कार्यशाला सम्पन्न भएको छ। फागुन ३ र ४ गते हुने मुख्य सम्मेलनमा एशियाका पाँचवटा देशका ३५० भन्दा धेरै क्यान्सर विशेषज्ञ चिकित्सकहरूको उपस्थिति रहने जानकारी पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्रकुमार यादवले दिएका छन्।

उनका अनुसार स्तन, घाँटी र मलद्वार क्षेत्रमा हुने क्यान्सर रोगको उपचारमा प्रयोग हुँदै आएको नवीनतम प्रविधि तथा अन्तरदेशीय सफल अभ्यासबारे छलफल गरिनेछ। साथै, क्यान्सर रोगबाट मुक्त भएका व्यक्तिहरूको अनुभव आदानप्रदान कार्यक्रमसमेत रहनेछ।



डा. यादवका अनुसार नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्यान्सर उपचार सेवा उपलब्ध भइसकेको छ। तर, सामाजिक र पारिवारिक कारणले कतिपय बिरामीहरू अझै पनि उपचारका लागि विदेश जान बाध्य भइरहेकाले आर्थिक भार व्यहोर्नु परेको बताए। पूर्वाञ्चल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपणबाहेकका सबै प्रकारका उपचार सेवा उपलब्ध रहेको जानकारी पनि उनले दिए।
विश्वव्यापी रूपमा स्वास्थ्य चुनौती बनेको क्यान्सर रोगको उपचार प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मेचीनगरस्थित पाँचतारे होटल मेची क्राउनमा मुख्य सम्मेलन सञ्चालन हुने बी एन्ड सी अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए।
दुई वर्षअघि पनि पूर्वाञ्चल क्यान्सर अस्पतालले यस्तै सम्मेलनको आयोजना गरेको थियो। पत्रकार सम्मेलनमा सार्क फेडेरेसन अफ अंकोलोजिस्ट नेपालका संस्थापक अध्यक्ष प्राडा मदनकुमार पिया, बी एन्ड सी मेडिकल कलेजका प्रिन्सिपल प्राडा उमेश शर्मा लगायत चिकित्सकहरूको उपस्थिति रहेको थियो।