बिर्तामोड । झापाको बिर्तामोडमा धार्मिक तथा पर्यटकीय स्थलमा निर्माण गरिने भौतिक संरचनाका विषयमा केन्द्रित अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ। नेपाल इन्जिनियर्स एशोसिएसन बिर्तामोड स्थानीय केन्द्रको आयोजनामा आयोजित कार्यक्रममा सरोकारवाला तथा विज्ञहरूले संरचनागत विकास र संरक्षणका उपायबारे विचारविमर्श गरेका हुन्।



शुक्रबार आयोजित प्यानल डिस्कशनमा धार्मिक, पर्यटन, निर्माण, तथा नीति निर्माण क्षेत्रका विज्ञहरूले आआफ्ना विचार प्रस्तुत गर्दै पौराणिक, पुरातात्विक र धार्मिक महत्वका स्थलहरूलाई व्यवस्थितरूपमा संरक्षण तथा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
धर्म तथा धार्मिक आस्थाका पक्षमा साधुटार शंकराचार्यपीठका अध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडाले धारणा राखे। पर्यटन प्रवर्द्धनबारे पर्यटन व्यवसायी एवं गाइड अमिर राईले बोले। निर्माणसम्बन्धी पक्षमा पूर्वाञ्चल क्याम्पसका प्रमुख इञ्जिनियर काजिराम कार्कीले प्राविधिक पक्ष स्पष्ट पारे भने निर्माण नीतिको सन्दर्भमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अनुभव साटे।



झापाका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, धार्मिक तथा पर्यटकीय क्षेत्रका प्रतिनिधि, निर्माण क्षेत्रका विज्ञहरू लगायत सरोकारवालाहरूको उपस्थिति रहेको उक्त गोष्ठीबाट निस्किएका निष्कर्षका आधारमा छिट्टै झापाका धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण र विकासका लागि साझा प्रतिबद्धता पत्र सार्वजनिक गरिने जानकारी गराइएको छ।
नेपाल इन्जिनियर्स एशोसिएसन कोशी प्रदेशका अध्यक्ष इञ्जिनियर जगनाथ शाहले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै धार्मिक तथा पर्यटकीय स्थलहरूको विकासमा इन्जिनियरहरूको भूमिका महत्वपूर्ण हुने बताए। सहभागीहरूले धारणा राख्दै धार्मिक, पर्यटकीय र पुरातात्विक स्थलहरूको निर्माण तथा संरचनामा देखिएका बेथितिहरू हटाई योजनाबद्ध रूपमा विकास गर्नुपर्नेमा एकमत व्यक्त गरेका छन्।

