

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणको चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरेर सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने भएको छ ।

चुक्ता पूँजी झन्डै तीन खर्ब रुपैयाँ कायम गरी प्राथमिक शेयर सर्वसाधारणलाई निष्कासन प्रस्ताव गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । प्रिमियमसहित प्राधिकरणको शेयरको मूल्य प्रतिकित्ता मूल्य झन्डै तीन सय रुपैयाँ हुनेछ । तर यसका लागि नियामक नेपाल धितोपत्र बोर्डले अनुमति दिनुपर्नेछ ।

प्राधिकरणको वार्षिक आम्दानी एक खर्ब १६ अर्ब र सम्पत्ति सात खर्ब रुपैयाँभन्दा बढी छ । प्राधिकरणले क्रेडिट रेटिङमा यस वर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । योसँगै प्राधिकरणले लगातार तेस्रो पटक ‘डबल ए प्लस’ रेटिङ पाएको छ ।


वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्त्व लगायतको विश्लेषण गरी रेटिङ गरिएको हो । ‘डबल ए प्लस’ रेटिङ प्राप्त गर्ने संस्थाको वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहेको बुझाउँछ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सरकारबाट स्वीकृति पाउनासाथ शेयर निष्कासनको प्रक्रिया अगाडि बढाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सर्वसाधारणलाई शेयर निष्कासनका लागि महत्त्वपूर्ण मापदण्डका रूपमा रहेको संस्थाको रेटिङ सम्पन्न भइसकेको छ, संस्थाको वास्तविक सम्पत्ति मूल्याङ्कन गरिसकेका छौँ, सरकारबाट स्वीकृति पाउनसाथ शेयर निष्कासनको प्रक्रिया अगाडि बढाउन सकिनेछ, शेयर निष्कासनबाट सङ्कलन गरिएको रकमलाई ठूला जलविद्युत् आयोजनाको निर्माणमा लगानी गर्ने योजना बनाएका छौँ ।’
घिसिङले विद्युत् उत्पादनतर्फका आयोजनाहरू निर्माण र बिजुली आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रणाली सुधार तथा विस्तारका लागि आवश्यक ठूलो पूँजी संस्थाले कमाएको नाफा र शेयर निष्कासनबाट प्राप्त हुने रकमबाट पूरा गर्ने योजना रहेको बताउनुभयो ।
बिजुली उत्पादन, प्रसारण र वितरणलाई सक्षम, भरपर्दो र सर्वसुलभ गरी विद्युत् आपूर्तिको समुचित व्यवस्था गर्न सरकारको पूर्ण स्वामित्वमा प्राधिकरण स्थापना गरिएको हो । प्राधिकरणले देशभित्र बिजुली उत्पादन, प्रसारण र वितरणका साथै आन्तरिक तथा सीमापार बिजुली व्यापार पनि गरिरहेको छ ।
सरकारले विद्युत् विकासका आफ्ना कार्यक्रमहरू कार्यान्वयन गर्न वार्षिक रूपमा बजेट विनियोजन, शेयरमा लगानी ९नगद वा ब्याजरसाँवा पूँजीकरण० र अन्य आवश्यक रकमरसञ्चालनमार्फत प्राधिकरणमा लगानी गर्दै आएको छ । प्राधिकरण सरकारको पूर्ण स्वामित्वमा रहेको, विद्युत् प्रसारण, वितरण र देशभित्र तथा बाहिरी देशसँग विद्युत खरिदरबिक्रीको एकाधिकार प्राप्त तथा सरकारको रणनीतिक संस्था हो ।
प्राधिकरणले स्वदेशी तथा विदेशी लगाीकर्ताहरूले निर्माण गर्ने जलविद्युत् आयोजनाहरूसँग झन्डै ११ हजार मेगावाटको दीर्घकालीन विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ । रेटिङको नतिजाले त्यस्ता आयोजनाको रकम भुक्तानी गर्न प्राधिकरणसँग उच्चस्तरको वित्तीय क्षमता रहेकाले लगानी जोखिम नरहेको देखाएको छ ।
प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेशन विस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको छ ।
आर्थिक वर्ष (आव) २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेकोमा आव २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै प्राधिरणले नाफाको इतिहास शुरू गरेको थियो । प्राधिकरणले गएको आव २०८०/८१ मा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो । आव २०७२/७३ मा ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । प्राधिकरणले गएको आवमा प्रणालीको विद्युत् चुहावट झन्डै १२ दशमलव ७३ प्रतिशतमा झारेको थियो । आव २०७२/७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो ।

