Aamsanchar

चारपानेस्थित विवेकाश्रम साङ्गवेद संस्कृत विद्यालय परिसरमा लागेको आगो नियन्त्रण

Author Image
सोमवार, फागुन ५, २०८१

चारपाने ।  झापा जिल्लाको बिर्तामोड–२ चारपानेस्थित विवेकाश्रम साङ्गवेद संस्कृत माध्यमिक विद्यालय परिसरमा आज बिहान १:३० बजे परालको माचमा आगलागी भएको छ। उक्त आगलागी बिर्तामोड नगरपालिकाको बारुणयन्त्रको सक्रियतामा नियन्त्रणमा ल्याइएको छ। आगलागी नियन्त्रणका क्रममा पहिलो चरणमा दमकलको पानी सकिएपछि, पुनः पानी भर्न करिब एक घण्टा समय लागेको थियो।

घटनाको प्रारम्भिक अनुसन्धान अनुसार, परालको माच नजिकै पाकघर र भाँडा माझ्ने ठाउँमा आगोको खरानीबाट झिल्को उडेर आगलागी भएको अनुमान गरिएको छ। आगलागीबाट करिब ४ विघामा उत्पादन भएको पराल जलेर नष्ट भएको छ, जसबाट करिब ७० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

विर्तामोड वडा नं। २ का वडाध्यक्ष किशोरकुमार पौडेलले आगलागी भएको खबर पाएपछि बिर्तामोड र मेचीनगर नगरपालिकाको बारुणयन्त्रलाई खबर गरेका थिए। दुवै नगरपालिकाको दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको हो।

यस घटनाले सार्वजनिक स्थलहरूमा दमकलका लागि आवश्यक पर्ने पानी सहज रूपमा उपलब्ध गराउन बोरिङ वा अन्य स्थायी व्यवस्थापनको जरुरत रहेको चेतावनी दिएको छ। दमकलको पानी सकिएपछि पुनः भर्न एक घण्टा समय लाग्दा, अन्य ठाउँमा यस्तै परिस्थितिमा ठूलो क्षति हुन सक्ने अवस्था देखिएको छ। परालको आगो माथिबाट भिजाइएकाले ज्वाला बाहिर फैलिन नपाए पनि, अन्य स्थानमा यस्तै अवस्थामा झन् ठूलो क्षति हुन सक्ने अनुमान सहजै गर्न सकिन्छ।

स्थानीय सरकारले यसतर्फ विशेष ध्यान दिई, सार्वजनिक स्थलमा दमकलका लागि आवश्यक पानी आपूर्ति सहज बनाउने व्यवस्था गर्न आवश्यक देखिन्छ।

विद्यालयका शिक्षक भरत भट्टराईका अनुसार, हाल सो क्षेत्र खतरामुक्त रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर