Aamsanchar

विकृति–विसंगतिविरुद्ध नागरिक समाजको सशक्त आवाज, बिर्तामोडको डान्सबार बन्दगर्न माग

Author Image
आइतवार, फागुन ११, २०८१

प्रतिकात्मक तस्वीर।

बिर्तामोड – समाजमा फैलिँदै गएको विकृति–विसंगतिविरुद्ध स्थानीय नागरिक सचेत हुँदै अगाडि बढेका छन्। झापाको बिर्तामोड नगरपालिकामा अवस्थित न्यू एभरेष्ट होटल एण्ड नाइट बारले सामाजिक शान्ति भंग गरिरहेको भन्दै स्थानीय बासिन्दा आक्रोशित बनेका छन्।

शुभ नगर टोल विकास संस्था लगायत स्थानीय संघसंस्थाहरूले होटलको गतिविधिले समाजमा नकारात्मक असर पारिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय झापा मा उजुरी दिएका छन्। उजुरीपछि प्रशासनले प्रहरीलाई आवश्यक कारबाहीको निर्देशन दिएको छ।

प्रशासनको निर्देशनपछि बिहीबार बिर्तामोड वडा नं.४ का वडाध्यक्ष राहुल शर्मा, प्रहरी टोली र टोल विकास संस्थाका प्रतिनिधिहरूले होटलमा अनुगमन गरेका छन्। सार्वजनिक शान्ति सुव्यवस्थामा असर पर्ने गरी रातभर डान्स बार सञ्चालन गरेको उजुरीपछि यो कारबाही अघि बढाइएको वडाध्यक्ष शर्माले जानकारी दिए।

स्थानीयबासीका अनुसार होटलमा अनुमति बिना नाइट बार (डान्स बार) सञ्चालन भइरहेको छ। रातभर मदिरा सेवन, होहल्ला र झैझगडाले स्थानीयहरू त्रसित भएका छन्। होटलका सञ्चालक भरत राजवंशी ले होटल दर्तासम्बन्धी कागजात देखाए पनि डान्सबार सञ्चालन गर्ने वैधानिक अनुमति भने प्रस्तुत गर्न सकेनन्।

वडाध्यक्ष शर्माले अनुमति कागजात लिएर वडामा उपस्थित हुन निर्देशन दिएका छन्। सो कागजात नआएसम्मका लागि होटल बन्द गर्न भनिएको छ।

शुभ नगर टोल विकास संस्थाका अध्यक्ष अजित कुमार कटुवाल का अनुसार, होटलका गतिविधिले समाजलाई अशान्त बनाएकाले पटक–पटक सम्झाउँदा पनि सुधार नआएपछि होटल दर्ता खारेजीको माग गरिएको हो।

विकृति–विसंगतिविरुद्ध नागरिक समाजको भूमिका झन् महत्त्वपूर्ण बन्दै गएको छ। अव्यवस्थित र नियमविपरीत सञ्चालित व्यवसायले सामाजिक शान्तिमा असर पुर्याउने भएकाले स्थानीय तह, प्रहरी प्रशासन र नागरिक समाजको समन्वयमा यस्ता गतिविधिमाथि कठोर कदम चाल्नु जरुरी छ।

अब समाज सुधारको अभियानलाई अझ सशक्त बनाउँदै विकृति–विसंगतिविरुद्धको संघर्षमा सबैको ऐक्यबद्धता आवश्यक छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)