Aamsanchar

पहिचावादीहरु संगठित, एलबी पालुङ्वा संयुक्त पहिचानवादी मोर्चा झापाको संयोजक चयन

Author Image
शुक्रवार, वैशाख १९, २०८२

झापा । संयुक्त पहिचानवादी मोर्चा जिल्ला समन्वय समिति झापाको संयोजकमा एलबी पालुङ्वा चयन भएका छन्। बिहीबार बिर्तामोडमा आयोजित मोर्चाको भेलाले उनलाई सर्वसम्मत रूपमा संयोजकमा चयन गरेको हो।

चार वटा पहिचानवादी पार्टीहरूको एकीकरणपछि संयुक्त पहिचानवादी मोर्चा गठन गरिएको हो। उक्त मोर्चामा केपी पालुङ्वा नेतृत्वको नेपाल जनमुक्ति पार्टी, डा. महेन्द्र लावती नेतृत्वको पहिचानवादी मोर्चा, ज्ञानवहादुर गुरुङ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, र डकेन्द्रसिंह थेगिम नेतृत्वको ‘पहिचानका लागि प्रदेश नं. १ पुनः नामाङ्कन अभियान समिति’ समाहित भएका छन्।

एलबी पालुङ्वा संयुक्त पहिचानवादी मोर्चा झापा संयोजक ।

भेलाले भावनी विक्रम सेलिङ, दिनेश किराती मावो, हरि चौधरी, नीर बहादुर राई, कालिवहादुर खेवाङ, गंगा दुलाल, संगम खनाल, थीरबहादुर खवासलाई सह–संयोजक र प्रमेश थापा मगरलाई सदस्य सचिव चयन गरेको छ।

संयोजक पालुङ्वाको नेतृत्वमा ७९ सदस्यीय जिल्ला समिति तथा १३ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ। उनका अनुसार छरिएर रहेका पहिचानवादी शक्तिहरूलाई एकीकृत गर्ने उद्देश्यले जिल्ला समिति गठन गरिएको हो।

कार्यक्रममा पहिचानवादी मोर्चाका जिल्ला संयोजक अग्नि मेचेको अध्यक्षता, तथा डकेन्द्र सिंह थेगिमको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नेपाल जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष भक्त खेवाङ, नेता संजुहाङ पालुङ्वा, संयुक्त पहिचानवादी मोर्चाका सचिवालय सदस्य खगेन्द्र माखिम, नेता त्रिनारायण राजवंशी, तथा नागरिक उन्मुक्ति पार्टीका संघीय अध्यक्ष ज्ञानवहादुर गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको स्वागत प्रमेश थापा मगरले गरेका थिए भने सञ्चालन नेपाल जनमुक्ति पार्टी झापाका सचिव पदम कन्दङ्वाले गरेका थिए।

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर