

इजरायली सेनाले गाजामा सैन्य कारबाहीलाई अझ तीव्र बनाउने जनाएको छ। इजरायलको युद्ध मन्त्रिपरिषद्ले उक्त निर्णयलाई अनुमोदन गरेको छ। यसमा गाजालाई पूर्ण रूपमा ुकब्जाु गर्ने र सम्पूर्ण क्षेत्र नियन्त्रणमा लिने योजना समावेश छ।


अर्को हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणपछि मात्र उक्त निर्णय लागू हुने जनाइएको छ। त्यतिन्जेलसम्म इजरायलले हमाससँग युद्धविराम र बन्धक सम्झौतामा पुग्ने प्रयास जारी राख्नेछ।


इजरायली सेना प्रमुख इयाल जामिनले गाजामा कारबाहीलाई तीव्र बनाउने चेतावनी दिएका छन्। उनले यो कारबाहीले गाजामा बन्धक बनाइएकाहरूको जीवन खतरामा पार्न सक्ने पनि बताएका छन्। यद्यपि उनले नयाँ योजनाले हमासविरुद्ध अझ शक्तिशाली आक्रमण गर्न र बाँकी बन्धकहरूलाई फिर्ता ल्याउन मद्दत गर्ने बताए।
इजरायली अधिकारीहरूले गाजामा आक्रमण गर्नुको पछाडि दुई उद्देश्य रहेको बताएका छन्।
पहिलो उद्देश्य हमासलाई परास्त गर्नु र दोस्रो उद्देश्य बन्धक बनाइएकाहरूलाई बचाउनु हो।

