कचनकवल । कचनकवल गाउँपालिकाले लागूपदार्थ दुर्व्यसन नियन्त्रणका लागि लक्षित ‘लागूऔषध विरुद्ध आमा सशक्तीकरण कार्यक्रम’को दोस्रो चरण सुरु गरेको छ। कार्यक्रमको पहिलो दिन कचनकवल–६ स्थित सिंगीमारीको दुर्गा मन्दिर भवनमा सम्पन्न भयो।

कार्यक्रमको उद्घाटन वडा सदस्य बबिता काफ्लेले स्वागत मन्तव्य दिँदै गरिन्। कार्यक्रमका संयोजक तथा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले समाजमा लागूपदार्थको समस्या दिनानुदिन भयावह बन्दै गएको भन्दै यसलाई रोक्न आमाहरूको भूमिका निर्णायक हुने बताए। उनले भने, “हिजोका दिनमा अभिभावकको डरले सन्तान सम्हालिन्थे, तर आज बाउ–आमाले आफ्नै छोराछोरीबाट डराउनुपर्ने अवस्था सिर्जना भएको छ।”

भट्टराईले समुदायमा आमाहरू नजिकको पर्यवेक्षकका रूपमा रहेका कारण उनीहरूलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको बताए। “आमाले नै छोराछोरीको सबै गतिविधि नजिकबाट नियाल्न सक्छन्, त्यसैले यो अभियान आमा लक्षित गरिएको हो,” उनले भने।


कार्यक्रम सञ्चालक उमेश मिश्रले महिलाहरूको सक्रिय सहभागिताले समुदायस्तरमै सचेतना फैलाउन सहज हुने विश्वास व्यक्त गरे। कार्यक्रममा महिला, स्वास्थ्य शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत जागेश्वर यादव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख सुनिता दाहाल, वडा नं। ६ का वडाध्यक्ष चिन्तामणी खरेल लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

प्रशिक्षक सोमराज ढकालले ‘लागूपदार्थ सामाजिक समस्या हो’ भन्ने मूल सन्देशसहित प्रशिक्षण दिएका थिए। उनले लागूपदार्थको परिभाषा, प्रकार, प्रयोगका कारण र असरबारे जानकारी दिँदै महिलाहरूले घरमै रहेर दुर्व्यसन नियन्त्रणमा गर्न सक्ने व्यवहारिक उपायहरूबारे चर्चा गरे।
करीब १०० जना महिलाको सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले विषयवस्तु उपयोगी र समयसापेक्ष रहेको प्रतिक्रिया दिएका छन्। साथै, गाउँपालिका स्तरमै सुधार केन्द्र तथा परामर्श केन्द्र स्थापना गर्नुपर्ने सुझाव समेत आएको छ।
कार्यक्रमको दोस्रो दिन वडा नं। ७ स्थित डुगडुगीमा सञ्चालन गरिनेछ। पालिकाभित्रका १० स्थानमा यस्ता कार्यक्रम सञ्चालन गरिने कार्यक्रम सञ्चालक मिश्रले जानकारी दिए।

